काठमाडौं । मोटरसाइकलको प्रयोग बढ्दै गएसँगै यसमा प्रविधिको विकाससमेत तिब्ररुपमा विकास भइरहेको छ । यस्तोमा विभिन्न कम्पनीले आफ्ना मोटरसाइकललाई कसरी उत्कृष्ट बनाउने भनेर काम गरिरहेका हुन्छन् ।
प्रविधिकै कारण कम सीसी क्षमता भएका मोटरसाइकललाई समेत धेरै पावर प्रदान गर्ने बनाउन सक्ने टेक्नोलोजीको विकास भइसकेका छन् । सामान्यतया मोटरसाइकल खरिदकर्ताले मोटरसाइकल किन्दा मूल्य, लुक्स, माइलेज जस्ता कुरामा ध्यान दिने गर्छन् । अहिले त्यो ट्रेन्डमा परिवर्तन आउन थालेको छ ।
अहिले कुन मोटरसाइकको मूल्य कस्तो छ, यसको पावर तथा लुक्स कस्तो छ भनेर मोटरसाइकल खरिद गर्नेको संख्या बढ्दो छ । अझै भनौ युवा पुस्ताले त यसको लुक्स तथा पावरमा मात्र ध्यान दिने गरेको पाइन्छ ।
यस्तोमा नेपाली बजारमा उपलब्ध रहेको १५० सीसी सेग्मेन्टमा मोटरसाइकलमा कुनको कस्तो पावर छ त भनेर आज हामी बिष्लेषण गर्ने प्रयास गरेका छौ ।
१. यामाहा आर १५ भी ३
यामाहा आर १५ भी ३ मा १५५ सीसी फ्युल इन्जेक्ट (भीभीए) इन्जिनको प्रयोग गरिएको छ । यसले अधिकतम १० हजार आरपीएममा १९.०४ बीएच पावर प्रदान गर्छ । त्यस्तै उक्त इन्जिनले ८५०० आरपीएमा १४.७ एनएम टर्क जेनेरेट गर्छ ।

यो बाइकको टप स्पीड १४४ किलोमिटर प्रतिघण्टा रहेको छ । यो आफ्नो सेग्मेन्टमा नै सबैभन्दा पावरफुल मोटरसाइकल रहेको छ । नेपाली बजारमा यो बाइक निकै लोकप्रिय रहँदै आएको छ ।
यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । यसले प्रतिलिटर ३५ देखि ४० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसको सुरुवाति मूल्य ४ लाख ३१ हजार ९०० रुपैयाँ रहेको छ ।
२.आरटीआर १६० ४ भी
टीभीएस अपाचे आरटीआर ४ भीमा १५९ सीसी सिङ्गल सिलिन्डर कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १६.२ बीएच पावरका साथै ६५०० आरपीएममा १४.८ एनएम टर्क उत्पादन गर्छ । आरटीआर फोर-भीको इन्जिनमा फाइभ-स्पीड गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलको टप स्पीड ११४ किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकलले कम्तीमा ३५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ । यसको मूल्य नेपाली बजारमा २ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ ।
३.बजाज पल्सर १६० एनएस
बजाज एनएस सिरिज नेपाली बजारमा लोकप्रिय मोटरसाइकल हो । एनएस सिरिजलाई पावरफुल मोटरसाइकलको रुपमा लिने गरिन्छ । एनएस १६० मा १६० सीसी सिगंल सिलिन्डर फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । यसले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।

यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ भने, यो मोटरसाइकलले प्रतिघन्टा ११२ किलोमिटरको टप स्पीड प्रदान गर्छ । यसको मूल्य २ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ ।
४. होन्डा सीबी हर्नेट १६० आर
होन्डा सीबी हर्नेट १६० आर मा १६२ सीसी सिगंल सिलिन्डर एयरकूल्ड कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा १४.९ बीएच पावर तथा ६५०० आरपीएममा १४ंं.५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ भने यसको टप स्पीड ११५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ रहेको छ ।
५. सुजुकी जिक्सर १५०
सुजुकीले जिक्सर १५० को नयाँ भर्सन गत नाडा अटो शोमा सार्वजनिक गरेको हो । सुजुकी मोटरसाइकलको सर्वाधिक बिक्री हुने मोटरसाइकल समेत रहेको यो मोटरसाइकल नेपाली बजारमा लोकप्रिय मोटरसाइकल रहेको छ । यो मोटरसाइकलमा १५४.९ सीसी सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ ।

यसमा रहेको इन्जिनले ८००० आरपीएममा १४.१ पीएस पावरका साथै ६००० आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यसको टप स्पीड क्षमता ११५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसको मूल्य नेपाली बजारमा ३ लाख १५ हजार रुपैयाँ रहेको छ ।


