काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि फागुन १४ गतेदेखि जडिबुटी-सुर्यविनायक सडकखण्डमा ट्राफिक व्यवस्थापनको लागि नयाँ नियम सुरु गर्ने भएको छ । उक्त ठाउँमा महाशाखाले ‘बस लेन’ अवधारणा सहितको नयाँ नियम ल्याएको हो ।
जडिबुटी-सुर्यविनायक सडकखण्डमा यात्रुवाहक तथा मालबाहक सवारी साधन, बस, मिनि बस, ट्रक, टिपर, र कम गतिमा गुड्ने सवारी साधन बाँया लेनबाट र निजी तथा हलुका सवारी साधनहरु दाँया लेनबाट मात्र चलाउन पाइने छ ।
‘सबै किसिमका सवारी कुन लेनबाट चलाउन पाउने भन्ने छुट्टाइएको छ, गलत लेनमा चलाए भोलिबाट कारवाही हुन्छ’, उपत्यका ट्राफिक प्रहरी प्रबक्ता जीवनकुमार श्रेष्ठले बताए ।
उक्त नियम सवारी साधनले पालना नगरेको खण्डमा ट्राफिक प्रहरीको नियम अनुसार जरिवाना तिर्नु पर्ने हुन्छ ।
सडकमा भएका दुर्घटनाहरु, सडक जाम आदि कम गर्नका लागि महाशाखाले यस्तो नियम ल्याएको जनाएको छ । उपत्यकाको सडकमा गुड्ने सवारी साधनहरुको आवतजावतमा सहजता ल्याउनको लागि तथा सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ महाशाखाले उक्त व्यवस्था ल्याएको दाबी गरेको छ ।
उक्त व्यवस्थाको लागि महाशाखाले सडकमा थप ट्राफिक प्रहरी र सिभिल प्रहरी खटाउने भएको छ । यस व्यवस्थाको लागि महाशाखाले यातायात व्यवस्था विभाग र सवारीसाधन व्यावसायीहरु सँगसमेत समन्वय गरिरहेको भक्तपुर ट्राफिक प्रहरीका सइ जेजंग कार्कीले बताए ।
जडिबुटी-सुर्यविनायक सडकमा यो कार्यक्रम सफल भए अन्य ठाँउहरुमा पनि यो व्यवस्था संचालनमा ल्याउने योजना रहेको उनले सुनाए ।


