विद्युतीय कार नेपालमा बनाउन पहल गर्ने विषय नाडामा प्रवेश

चितवन । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चितवनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विद्युतीय गाडी नेपालमा मै उत्पादन गर्ने विषयले प्रवेश पाएको छ ।

नाडाले चितवन र हेटौडाका अटोमोवाइल व्यवसायीसँग गरेको अन्तक्र्रियामा पैसा लगानी गर्न सक्ने व्यवसायीहरु सहभागी भएर नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने वातारण निर्माण गर्नु पर्ने व्यवसायीहरुको भनाई छ ।

‘विद्युतीय गाडीको प्रयोग गर्न ग्राहकहरु इच्छुक रहेको देखियो । सरकारले विद्युतीय गाडीको लागि आवस्यक पूर्वाधार निर्माणमा जोड दिएको समयमा सबै व्यवसायीहरुले सामूहिक पहल गरेर विद्युतीय गाडी नेपालमा नै बनाउनु पर्ने अवस्था आएको छ’, नाडाका पूर्वउपाध्यक्ष शिबराज गिरीले भने ।

यस विषयमा सरकारले पनि नाडालाई झकझकाएको बताउँदै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाले भने ‘सरकारले नीतिमा स्थिरता ल्याउने हो भने व्यवसायीहरुले नेपालमा नै गाडी उत्पादन गर्न लगानी गर्नेछन् ।’

साथै, उनले नेपालका सडकहरुको अवस्था निकै दयनीय रहेको र त्यस्ता सडकलाई राम्रो बनाउनु पर्ने बताए । चिल्ला सडकमा गाडी गुडाउन पाउनु पर्ने नागरिकको अधिकार हो । त्यसलाई राज्यले पुरा गर्नु पर्ने उनको भनाइ थियो ।

अटोमोबाइल व्यवसायीहरुले राज्यलाई उल्लेख्य कर तिर्ने गरेको बताउँदै त्यो करलाई सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा खर्च हुनुपर्ने उनको भनाइ थियो ।
कोरोना महामारीका बीचमा पनि नाडाको बर्तमान कार्यसमितिले उत्साहजनक कार्य गर्न सफल भएको उनले बताए । व्यवसायीहरुलाई नीतिगत रुपमा कुनै समस्या भएमा समाधान गर्न सफल भएको बताउँदै उनले व्यावसायिक हकहितका क्षेत्रमा नाडा सक्रिय रहेको भनाइ राखे ।

सातै प्रदेशमा नाडा अन्तर्गतका एसोसिएसन गठन भएको र सबै एसोसिएसनसँग सहकार्य भइरहेको उनले बताए ।


Back_to_top