उकालोमा गाडी उठाउन गाह्रो लाग्छ ? यसरी सजिलै चलाउनुस्

काठमाडौं । चालकहरू बीच एउटा भनाइ छ, ‘नेपालको बाटोमा गाडी चलाउन सक्नेले विश्वको जुनसुकै ठाउँमा गाडी चलाउन सक्छ।’ नेपालमा चारपाँग्रे सवारी चलाएर हिँड्नु सबैको रहरको विषय हो भने केहीको बाध्यता पनि ।

काठमाडौंको अस्तव्यस्त ट्राफिक जाममा चारपाँग्रे सवारीसाधन चलाएर हिँड्नु अझ गाह्रो कुरा हो । हाम्रा सडकहरू अन्तर्राष्ट्रिय स्तरका छैनन् । यहाँ सहरभित्रै गाडी चलाउन पनि अफरोडमा गाडी चलाउनु जत्तिकै सकस छ । एकातिर खाडाखुल्डी सडक छ भने अर्कोतिर सवारी चालकहरू अनुशासित तरिकाले आफ्नो लेनमा हिँड्न जानेकै छैनन् । यसले दुर्घटना समेत निम्त्याउने गरेको छ ।

काठमाडौंभित्र मुख्यगरी सोह्रखुट्टेको उकालो, रातोपुलबाट गौशाला जाने उकालो, गौरीघाटबाट मित्रपार्क जाने उकालो सधैँ जाममा परिरहेने उकालाहरू हुन् । यस्तै, उपत्यका भित्रने मुख्य नाका नागढुङ्गामा पनि सधैँ ट्राफिक जाममा भई नै रहन्छ ।

भर्खर सिकेका वा वर्षाैँदेखि गाडी चलाउँदै आएका चालकले पनि उकालो बाटोमो सवारी चलाउन असहज ठान्छन् । अझ ठाडो उकालोमा रोकिएर गाडी अगाडि बढाउनको लागि नयाँ चालकलाई पसिना समेत छुट्ने गर्दछ । तर, केही निश्चित टेक्निक अपनाएमा यस्ता बाटाहरूमा पनि सजिलै गाडी चलाउन सकिन्छ । तर यस्ता टेक्निकहरू भने बारम्बार प्रयास गरेर मात्र निःपूर्णता पाउन सकिन्छ ।

पहिलो अवस्था : उकालोमा रोकिएपछि

उकालोमा गाडी जाममा परे सुरूमा रोक्ने र ह्याण्ड–ब्रेक पूरा तान्नुपर्छ । अनि गाडीको गियरलाई न्यूट्रलमा लगाएर राख्नुपर्छ । ह्याण्ड–ब्रेक पूरा लगाएपछि लेग–ब्रेक लगाइरहन जरुरी छैन ।

उक्त समयमा लेग–ब्रेक छाडेर खुट्टालाई पनि आराम दिन सकिन्छ । यदि अगाडि लामो जाममा छ भने गाडीको स्टार्ट नै बन्द गर्नु उपयुक्त हुन्छ । उकालोमा रोकिँदा विशेषतः दुईवटा कुराको ध्यान दिनुपर्छ । पहिलो गाडीको अगाडि र पछाडि कति स्पेस छ, सो कुराको अनुमान गर्नुपर्छ भने दोस्रो गाडी अगाडि बढाउँदा अगाडिको गाडी केही मिटर अघि बढिसकेपछि मात्र आफ्नो गाडी अगाडि बढाउनुपर्छ । गाडी अगाडि बढाउँदा पहिला एक नम्बरको गियर लगाएर क्लच थिचिरहनुपर्छ ।

त्यसपछि दाहिने खुट्टाले विस्तारै केही मात्रामा एक्सिलेटर थिच्नुपर्छ, जसले गाडीको आरपीएम बढाउँछ र इन्जिनको आवाज केही बढ्छ । अनि गाडीमा दाहिने खुट्टाले एक्सिलेटर थिचिरहेको अवस्थामा देब्रे–खुट्टाले थिचिरहेको क्लच विस्तारै रिलिज गर्दै जानुपर्छ । जब गाडी अलिअलि भाइब्रेट हुनथाल्छ र फरकखालको आवाज निकाल्दै गाडी अगाडि बढ्न खोज्छ । तब देब्रे हातले ह्याण्ड–ब्रेक विस्तारै रिलिज गर्नुपर्छ । अब गाडी अगाडि बड्न थाल्नेछ ।

सुरूमा बानी नपर्दा केही समय हाफ–क्लच थिचेरै चलाउँदा पनि हुन्छ, जसले गर्दा गाडीको स्टार्ट बन्द हुँदैन । गाडी पूर्णरुपमा गुड्न थालेपछि क्लच–पेडल पूरै रिलिज गर्नुपर्छ । त्यसपछि गतिअनुसार गियर चेन्ज गर्दा हुन्छ ।

यो प्रक्रिया पुर्याएमा गाडी पछाडि हट्नेछैन । यो प्रक्रिया बाटो खाली भएको समयमा उकालोमा प्राक्टिस गरिरहनुपर्छ । आफैं उकालोको बीचमा गाडी रोक्ने ह्याण्ड–ब्रेक लगाउने, स्टार्ट बन्द गर्ने र फेरि गाडी अगाडि बढाउने प्राक्टिस गरेमा हाम्रोजस्तो व्यस्त सडकमा पनि सहजै गाडी चलाउन सकिन्छ ।

दोस्रो अवस्था : उकालोमा विस्तारै चलाउनुपर्दा

कहिलेकाहिँ उकालो बाटोमा पनि जाम हुनसक्छ । यस्तो बेलामा त झन् नयाँ चालक हो भने अझ गाह्रो हुनसक्छ । किनकि अगाडि गति लिने ठाउँ पनि हुँदैन र पछाडिको सवारी बीचको दूरी पनि हुँदैन ।

अगाडिको गाडीको गति एकदमै कम हुन्छ र विस्तारै गाडीहरू अगाडि बढिरहेको हुन्छन् । यस्तो अवस्थामा आफ्नो सवारीको गति अगाडिको सवारीसँग बराबरी हुनुपर्छ अन्यथा अलिकति बढी भएमा अगाडिको सवारीसँग ठोकिन्छ भने गति कम भएमा पछाडिको सवारीले हर्न मार्न थाल्छन् अथवा स्टार्ट बन्द भएमा गाडी पछाडि हट्न सक्छ । यस्तो अवस्थामा हतारो नगरिकन आफ्नो पूरा ध्यान पूर्णतया आफ्नो गाडी र बाटोमा लगाउनुपर्छ ।

गाडी एकदमै कम गतिमा गुडाइरहनका लागि सबभन्दा पहिला त गाडी एक नम्बर गियरमा हुर्नै पर्दछ । अगाडिको गाडीको स्पीडअनुसार आफ्नो गाडी गुडाउन सबभन्दा सजिलो उपाए भनेको हाफ–क्लच लिएर गाडी चलाउनु हो । यसो गर्दा गाडी विस्तारै आफूले चाहेको गतिमा गुडाउन सहज हुन्छ । यदि गाडी रोक्न नै परे पनि हाफ–क्लचको सट्टामा क्लच पूरा थिचेर साथसाथै ब्रेक लगाएमा गाडी रोकिहाल्छ र स्टार्ट पनि बन्द हुँदैन ।गाडी फेरि अगाडि बढ्न थालेपछि माथिकै प्रक्रियामा गाडी अगाडि बढाउनुपर्छ ।


Back_to_top