काठमाडौं । सवारी साधन चलाउँदा सुरक्षाका लागि सिट बेल्ट प्रयोग अनिवार्य गरिएको छ । तर, व्यवहारमा भने करिब एकतिहाईले मात्रै सिटबेल्ट प्रयोग गर्ने गरेको पाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको सिट बेल्ट अनुपालन अध्ययनको अन्तिम प्रतिवेदन अनुसार औसतमा ३३.९२ प्रतिशत चालकले मात्र सिट बेल्ट बाँध्ने गरेका पाइएको हो ।
प्रतिवेदन अनुसार सिट बेल्ट प्रयो नगर्नेमा सार्वजनिक सवारी साधनका चालक अगाडि रहेका छन् । जसमा बस चलाउने ४.१ प्रतिशत र ट्रक चलाउने ५.९ प्रतिशत चालकले मात्र सिटबेल्ट बाँध्ने गरेका छन् । बसका ९५.९ प्रतिशत र ट्रकका ९४.१ प्रतिशत चालकले सिटबेल्ट प्रयोग नै नगर्ने पाइएको हो ।
बस सबैभन्दा धेरै यात्रुले प्रयोग गर्ने सवारी साधन भए पनि यसका चालकहरू गैरजिम्मेवार हुने र लापारबाही गर्ने गरेको पाइएको हो ।

त्यस्तै, माइक्रोबसका ४१.१ प्रतिशत र युटिलिटी भेहिकलका ४९.२ प्रतिशत चालकले सिट बेल्ट बाँध्ने गरेको पाइएको छ ।
सिटबेल्ट प्रयोग गर्ने मामलामा कार चालकहरू तुलनात्मक रुपमा निकै सचेत देखिएका छन् । कुल कार चालक मध्ये ६९.३ प्रतिशतले सिटबेल्ट बाँध्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । ३०.७ प्रतिशत कार चालकले मात्रै सिटबेल्ट प्रयोग नगर्ने गरेको भेटिएको हो ।
पछिल्लो समय बजारमा आएका अधिकांश आधुनिक कारमा सिटबेल्ट प्रयोग नगरे बार्निङ दिने र लिमिटमा मात्रै गुड्ने फिचर राखिएका छन् । यसले पनि चालकहरूलाई सिटबेल्ट प्रयोग गर्न बाध्य बनाएको देखिन्छ ।
मन्त्रालयले देशका मुख्य ५ राजमार्गहरू राप्ती, पृथ्वी, कर्णाली, पूर्व-पश्चिम र बीपी राजमार्गमा सर्वेक्षण गरेको थियो । जसमा पृथ्वी हाइवेमा सबैभन्दा धेरै ५४.८ प्रतिशतले सिटबेल्ट प्रयोग गर्ने पाइएको हो ।
त्यस्तै, बीपी हाइवेमा ५४.२ प्रतिशत, पूर्व-पश्चिममा ३२.६ प्रतिशत, कर्णालीमा ३१.७ प्रतिशत र राप्ती राजमार्गमा सबैभन्दा कम १८.७ प्रतिशत चालकले मात्र सिटबेल्ट प्रयोग गर्ने गरेको पाइएको हो ।

