काठमाडौं । ३ अर्ब रुपैयाँ बढी खर्चेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका लागि अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिने भएको छ ।
हाल रामशाह पथमा रहेको भवन पुरानो हुनुका साथै जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा प्रयोग गर्नै नमिल्ने गरी क्षति भएकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिका २८ रामशाहपथमा १२ तले भवन निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार पारिएको हो ।
उक्त ईआइए स्वीकृतिका लागि वन मन्त्रालयमा पेश गरिएको छ । मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालासँग राय सुझाव समेत मागेको छ ।
ईआइए प्रतिवेदन अनुसार भवन १२ तले (दुई तले बेसमेन्ट बाहेक) अग्लो हुनेछ । उक्त भवन निर्माण गर्न ३ अर्ब ४ करोड १८ लाख ११ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रस्तावित भवन भूकम्प प्रतिरोधात्मक हुनेछ । भवन सेवाग्राही, सर्वसाधारण र लैङ्गिकमैत्री तथा अपाङ्गमैत्री पूर्वाधारसहितको हुनेछ ।
यस भवनमा भित्र कार्यालयको लागि आवश्यक पर्ने रिसेप्सन, कुरुवास्थल, ट्राफिक प्रहरी गुल्म कार्यालय, ड्रेसिङ कक्ष, सञ्चार ब्यारेक, पुरुष र महिला ब्यारेक, मिडिया रुम, प्रबन्ध तथा भण्डारण कक्ष, सीसीटीभी शाखा, तालिम-मिटिङ-सचेतना हल, मेट्रो ट्राफिक एफएम कार्यालय र स्टुडियो, कर्मचारी क्वाटर, आगन्तुक क्वार्टर, डाइनिङ हल, शौचालय लगायतका सुविधाहरू रहने छन्।


