ह्याचव्याक सेग्मेन्टमा लिपमोटरको इन्ट्री, आउन सक्छ नेपाल

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरले सस्तो मूल्यको आधुनिक प्रविधि र आकर्षक डिजाइनसहितको नयाँ इलेक्ट्रिक ह्याचब्याक ए-०५ को प्रि-सेल सुरु गरेको छ । चिनियाँ बजा।मा यसको प्रारम्भिक मूल्य ६३ हजार ९०० युआन अर्थात् करिब ९ हजार ४७५ अमेरिकी डलर तोकिएको छ ।

अहिले नेपाली बजारमा उपलब्ध चेरी क्यू, आरफक्स टी-१ र प्रोटोन इमास-५ सँग प्रतिस्पर्धा गर्ने ए-०५ को लम्बाइ ४२०० एमएम, चौडाइ १८०० एमएम र उचाइ १५६० एमएम छ । यसमा ह्वीलवेस २६०५ एमएम लामो छ । साइजको हिसावले यो प्रोटोन इमास-५ भन्दा केही लामो छ । आरफक्स टी-१ र चेरी क्यूभन्दा छोटो छ ।

कम्पनीले यसमा १६ र १७ इन्चका ह्विलमा विकल्प प्रदान गरेको छ । बाहिरी डिजाइनमा लिपमोटरको नयाँ पुस्ताको सरल तर स्पोर्टी डिजाइन यसमा पनि झल्किन्छ ।

ह्याचव्याक कारमा ३९.८ किलोवाट आवरको एलएफपी ब्याट्री पाउन सकिन्छ । लीपमोटरले ए-०५ मोडलमा मोटर भने ७० किलोवाट क्षमताको दिएको छ । टप भेरियन्टमा भने ५२ किलोवाट आवरको लिक्विड कुल्ड एलएफपी ब्याट्री र ९० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।

यसको ड्यासबोर्डमा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको सेन्टर स्क्रिन छ । भेरियन्ट अनुसार स्न्यापड्रयागनको ८१५५ र ८२९५ चीप प्रयोग गरिएको छ । टप भेरियन्टमा हिटेड र भेन्टिलेटेड सिट, १२ स्पिकर, ३३ वटा स्टोरेज स्पेस र सिट फोल्ड गर्दा १३०८ लिटरसम्मको बुट स्पेस पाइन्छ ।

सबैभन्दा आकर्षक पक्ष भनेको टप भेरियन्टमा १२८ लाइन लिडार सहितको एड्भान्स्ड ड्राइभिङ सिस्टम हो ।

अहिले चीनमा बिक्री सुरु भएको ए-०५ लिपमोटरको ग्लोबल मोडल हो । त्यसैले नेपाली बजारमा पनि यसको बिक्री छिट्टै हुन सक्ने देखिन्छ ।


Back_to_top