काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ५ दिनमै डेढ लाख बढीले अवलोकन गरेका छन् ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले भ्रमण गरेका हुन् ।
नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पोको पहिलो दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । ५ दिनमा औसतमा ३० हजार जना बढीले एक्स्पो हेरेका हुन् ।
नाइमा एक्स्पो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । ‘मेला पूर्णरुपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नै परेन,’ उनले भने, ‘हाम्रो लक्ष्य पूरा भइसकेको छ, एक्स्पो अवलोकन गरेर भोलिको दिनलाई अझ विशेष बनाइदिन म सबैलाई आग्रह गर्छु ।’
मेलामा ५५ भन्दा बढी ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । हालसम्म विभिन्न ब्राण्डले ५३ नयाँ मोडलका सवारीसाधन लन्च गरेका छन् ।
नयाँ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् । विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ ।
दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ । नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरूले बताएका छन् । अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टीरग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् ।
कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।


