काठमाडौं । तपाईसँग बजेट कम छ । तर, एसयूभी लुक्स दिने पेट्रोल कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने अझै ३/४ महिना कुर्दा थप अप्सन पाउन सकिन्छ ।
टाटा मोटर्स र सिट्रोनले आफ्ना दुई नयाँ गाडी नेपाल ल्याउने छन् । यी दुबै मोडल नेपालमा विक्री सुरु हुनुअघि गर्नु पर्ने तयारी पुरा गरेर बसेका मोडल हुन् । तर, सरकारले गरेको आयात प्रतिबन्धको कारण नेपाल आउन पाएका छैनन् । टाटा पन्चको त सार्वजनिक हुने मितिसमेत लगभग तय भएको थियो । तर, लामो आयात प्रतिबन्धको कारण अहिलेसम्म पनि विक्री सुरु हुन सकेको छैन ।
त्यसैगरी सिट्रोनको सब फोर मिटर एसयूभी सीथ्री पनि नेपाल ल्याउने तयारी भएको गाडी हो । साँग्रिला मोटर्सले नाडा अटो शो २०२२ मा यसलाई सार्वजनिक गर्ने तयारी थालेको थियो । तर, आयात प्रतिबन्ध नहटेको कारण सीथ्री पनि नेपाल आउन सकेको छैन ।
भारतमा ५ लाख ५० हजारदेखि ९ लाखसम्म मूल्य रहेका यी दुबै मोडल नेपालमा २८ देखि ४२ लाखसम्मको मूल्य तोकेर विक्री सुरु हुने अपेक्षा गरिएको थियो । तर, दुबै मोडल कुन मितिबाट नेपालमा विक्री सुरु हुन्छ भन्ने एकिन भन्न सक्ने अवस्था भने छैन ।

सरकारले मंसिर मसान्तसम्म नै आयात प्रतिबन्ध लगाएर राखेको कारण कुनै पनि पेट्रोल र डिजेलबाट चल्ने निजी गाडी आयात गर्न पाइने छैन । त्यसैले आयात प्रतिबन्ध फुकुवा भएसँगै यी गाडी नेपाल आउने छन् । अब सन् २०२२ को पनि अन्त्यतिर आइपुगेको कारण सम्भवत सन् २०२३ को सुरुवातसँगै यी दुबै मोडल नेपाल आउने छन् ।
दुबै कारमा समान ३ सिलिण्डर १.२ लिटर क्षमताको पेट्रोल इन्जिन रहेको छ । जसमा पन्च र सीथ्रीको पावर क्रमशः ८४ र ८१ हर्सपावर र टर्क क्रमशः ११३ र ११५ एनएम छ । सिट्रोनले सीथ्री टर्बो इन्जिनमा पनि उपलब्ध गराएको छ । टर्बो इन्जिनको पावर १०९ हर्सपावर छ ।

इन्जिनका अलाबा दुबै कारमा समान ५ स्पीडको म्यानुअल गियरबक्स उपलब्ध छ । एआरएआईले प्रमाणित गरेअनुसार प्रतिलिटर माइलज पनि पन्च र सीथ्रीको क्रमशः १८.९७ र १९.८ किलोमिटर रहेको छ । यसमा सीथ्रीले लगभग १ किलोमिटर बढी माइलेज दिने देखिन्छ ।
समान फिचर, कम मूल्य र एसयूभी बडी डिजाइनमा आउने भएको कारण बजारमा धेरै छनोट बाँकी नरहेको समयमा ग्राहकले यी दुई मोडल कुर्दा फाइदा नै हुन सक्छ ।

