काठमाडौं । सनरुफ भएको एसयूभीको मूल्य कति पर्ला भन्ने प्रश्न जो कसैलाई सोध्यो भने सहजै दिने उत्तर हाे ४० लाखभन्दा माथि । तर, नाडा अटो शोमा ३४ लाखमै सनरुफ भएको एसयूभी खरिद गर्न सकिन्छ ।
सिप्रदी ट्रेडिङले नाडा अटो शोमार्फत बिक्री सुरू गरेको पन्च ईभी एसयूभी डिजाइनमा उपलब्ध छ । कम्पनीले ३३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरू गरेको पन्चको सुरूआति भेरियन्टमा नै तपाईंले सनरुफ पाउन सक्नुहुन्छ ।
टाटा पन्च पन्च ईभी सनरुफ मात्रै होइन, ग्राउन्ड क्लियरेन्सको हिसाबले पनि उत्कृष्ट छ । कम्पनीका अनुसार यसमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
सब फोर मिटर साइजको कारण यसलाई सजिलै पार्किङ गर्न सकिन्छ । यसको बडी डिजाइन धेरै हदसम्म टाटा नेक्सन ईभीकै जस्तो देखिन्छ । त्यसैले टाटाको एसयूभी विरासतलाई पन्च ईभीले पनि निरन्तरता दिँदै आएको देखिन्छ ।
नाडा अटो शो २०२४ लाई मध्यनजर गर्दै सिप्रदीले विशेष मूल्य अफर गरेको जनाएको छ । तीन दिनमा २४४ युनिट पन्च ईभी बुकिङ भएको सिप्रदी ट्रेडिङले जनाएको छ ।
‘तीन दिनको बुकिङबाट हामी निकै उत्साहित छौं । पन्चले इन्ट्री मोडल एसयूभी खोज्ने उपभोक्ताको चाहना पूरा गर्छ । साथै, हामीले दिने सर्भिस प्रति उपभोक्ताले देखाउनुभएको माया र सद्भावलाई हामी सधैं कायम राखेर अगाडि बढ्छौं’, सिप्रदी ट्रेडिङ प्यासेन्जर भेहिकल युनिटका महाप्रबन्धक शावन्तजंग सिजापतिले मेरोअटोसँग भने ।
सबै भेरियन्टको मूल्य ४० लाखभन्दा कम
टाटाले अटो शोमार्फत पन्च ईभीको तीन भेरियन्टको बिक्री सुरू गरेको छ । कम्पनीले बिक्री सुरू गरेको दुई भेरियन्ट लङ रेन्ज हो भने एउटा भेरियन्ट मिड रेन्ज हो ।
पन्च मिड रेन्ज (एमआर)मा २५ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको मूल्य ३३ लाख ९९ हजार तोकिएको हो । यो फुल अप्सन मोडल हो । ब्याट्री बाहेक सम्पूर्ण फिचर लङ रेन्जको टप भेरियन्टकै पाउन सकिन्छ ।
त्यस्तै लङ रेन्जमा मिड अप्सन मोडलको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ३५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । त्यसैगरी, यसको टप भेरियन्ट सनरुफसहित उपलब्ध छ । यसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू भएको हो ।