काठमाडौं । इटालीको मिलानमा हालै सम्पन्न इक्मा अटो शो २०२४ मा एड्भेन्चर मोटरसाइकलको कन्सेप्टदेखि प्रोडक्सन मोडलसम्म प्रदर्शनी भए ।
विभिन्न कम्पनीहरूले इलेक्ट्रीक तथा इन्टरनल कम्बस्चन इन्जिनमा मोटरसाइक देखाएका थिए । मिलानमा प्रदर्शन भएका केही मोटरसाइक चाँडै भारतमा उत्पादन हुनेछन् । भारतमा बन्ने मोडलहरु नेपालमा पनि बिक्री हुने सहजै अनुमान लगाउन सकिन्छ ।
हिरो, केटीएम, रोयल इनफिल्ड तथा बीएमडब्लूले देखाएका मोटरसाइकल आगामी वर्ष भित्रमा बजारमा आउने अनुमान गर्न सकिन्छ । त्यसैले यी मोटरसाइकलको चासो नेपालमा पनि हुनु स्वभाविक हो ।
हिरो एक्सपल्स २१०

हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स–२१० इक्मा अटो शो २०२४ मा पहिलो पटक सार्वजनिक भएको थियो । हिरोले लगभग प्रोडक्सनको लागि तयारी अवस्थामा देखाएको नयाँ एक्सपल्स २१० नेपालमा पनि चर्चा हुन थालिसकेको मोडल हो ।
कम्पनीले २०२५ को सुरुवातमै यो मोटरसाइकल बिक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ । करिज्मामा भएको २१० सीसी लिक्वीड कुल्ड, फोर भल्भ इन्जिन यसमा प्रयोग भएको छ । उक्त इन्जिनले ९२५० आरपीएममा अधिकतम २५.५ पीएस पावर तथा ७२५० आरपीएममा २०.४ एनएम टर्क जेनेरेट गर्छ ।
केटीएम ३९० एड्भेन्चर आर

केटीएमले इक्मा २०२४ मा केटीएम ३९० आर सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा नोभेम्बर १४ मा सार्वजनिक हुँदैछ । ¥याली प्रेरित बडीवर्क फिचरमा देखिएको केटीएम ३९० एड्भेन्चर आर केटीएमको सिग्नेचर कलर ओरेन्ज र ह्वाइट स्कीममा उपलब्ध छ ।
यसमा नकल गार्ड, उठेको फ्रन्ट फेंडर, स्ट्याक्ड प्रोजेक्टर एलइडी हेडलाइट र अग्लो विन्डस्क्रिन पाउन सकिन्छ ।
बीएमडब्लू एफ ४५० जीएस

इक्मामा देखिएको अर्को एड्भेन्चर मोटरसाइकल बीएमडब्लू एफ ४५० जीएस हो । कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट मोडलमा ४५० सीसी ट्वीन सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ४८ पीएस पावर जेनेरेट गर्छ ।
सेमी फियर्ड डिजाइनमा तयार यो कन्सेप्ट मोडलको फ्रन्टमा क्वाड एलिमेन्ट एलइडी डीआरएल दिइएको छ । यसमा ठूलो विन्डस्क्रीन दिइएको छ भने, यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशस सस्पेन्सन रहने छ ।
हिमालयन इलेक्ट्रीक २.०
रोयल इनफिल्डले फ्लाइङ फेलाको कन्सेप्ट सार्वजनिक गरेर चर्चा कमाइरहेको छ । त्यस्तै कम्पनीले अघिल्लो वर्ष इक्मामा प्रदर्शन गरेको हिमालयन इलेक्ट्रीकको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले प्रदर्शन गरेको हिमालयन इलेक्ट्रीक २.० हिमालयन ४५० बाट प्रेरित देखिएको छ ।

इलेक्ट्रीक हिमालयन २.० मा हिमालयन ४५० मा प्रयोग गएको राउण्ड सेप हेडल्याम्प र टेल सेक्सन प्रयोग गरिएको छ । २०२६ सम्ममा हिमालयन इलेक्ट्री भारतीय बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


