विल्कुल फरक डिजाइनमा हुन्डाई कोना, कहिले आउला बजारमा ?

काठमाडौं । हुन्डाईको सफल एसयूभी कोना नेपालमा इलेक्ट्रीक भर्सन मात्रै विक्री हुँदै आएको छ । तर, कोरियन निर्माताले विश्व बजारमा यसको कम्बस्चन, हाइब्रिड र इलेक्ट्रीक मोडल विक्री गर्दै आएको छ ।

सन् २०१८ मा पहिलो पटक नेपाल आएको कोना इलेक्ट्रीक विश्वका धेरै देशमा राम्रो विक्री पाउन सफल इलेक्ट्रीक क्रसओभर हो । सन् २०१८ त्यसपछि सन् २०२१ मा कोनाको फेसलिफ्ट बजारमा आएको थियो । अहिले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा विक्री गर्दै आएको कोना फेसलिफ्ट मोडल हो ।

हुन्डाई मोटर्सले आफ्नो सफल इलेक्ट्रीक क्रसओभर मोडलको नयाँ जेनेरेशन ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । विभिन्न समयमा यसको परिक्षण भइरहेको तस्विरहरु पनि इन्टरनेटको माध्यमबाट सार्वजनिक हुँदै आएका छन् ।

कम्पनीले सन् २०२३ को अन्तिमबाट बजारमा ल्याउन नयाँ जेनेरेशन कोना हुन्डाईको उपस्थिति रहेको सबै देशमा पुग्न २०२४ सम्म लाग्ने अनुमान गरिएको छ । त्यसैले यसलाई हुन्डाईले कोना २०२४ मोडल भनेर सम्बोधन गर्न थालेको छ ।

हुन्डाईले नयाँ जेनेरेशन कोनाको अवतार मात्रै परिवर्तन गरेको छैन । यसको साइज, क्याविन, ड्यासबोर्ड, सिट, स्टेरिङ ह्वीलदेखि सम्पूर्ण फिचरमा परिवर्तन गरेको छ । नयाँ कोनामा पहिलेको तुलनामा ६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । नयाँ कोनाको लम्बाई १५० एमएम र चौडाई २५ एमएमले बढाइएको छ ।

नयाँ जेनेरेशन कोनाको लम्बाई ४३५५ एमएम, चौडाई १८२५ एमएम र ह्वीलवेस २६६० एमएम दिइएको छ । ग्रिल विनाको एरोडाइनामिक्स फ्रन्ट, आक्रमक लुक्समा दिइएको एयर इन्टेक, पछाडि भागमा दिइएको लामो एलइडी लाइट बार, हाइ–माउन्ट ब्रेक लाइट दिइएको छ । इलेक्ट्रीक कोनाको फरकपन झल्काउन १९ इन्चको पिक्सल इन्सपायर्ड अलोय ह्वील दिइएको छ । नयाँ जेनेरेशन कोनाको क्याविन पनि आयोनीक ५ बाट प्रेरित रहेको सार्वजनिक भएको तस्विरले देखाउँछ ।

नयाँ कोनामा १२.३ इन्चको स्कृन दिएको छ । ड्यासबोर्डमा स्टोरेज, क्लीन सिट र सेन्टरकन्सोल देख्न सकिन्छ । यसमा रहेको ब्याट्री र मोटर साइजको विषयमा केही जानकारी बाहिर आएको छैन ।


Back_to_top