काठमाडौं । बजाज अटोले प्लाटीनाको एबीएस भर्सन सार्वजनिक गरेको छ । ११० सीसी कम्यूटर मोटरसाइकलमा एबीएस फिचर थप गरेर ल्याएको हो ।
कम्पनीले ७२ हजार २२४ भारतीय रुपैयाँ एक्स शोरुम मूल्य तोकेर प्लाटीना एबीएस सार्वजनिक गरेको हो । योसँगै प्लाटीना सेग्मेन्टमै पहिलो एबीएस भएको मोटरसाइकल भएको हो ।
एबीएसका साथै प्लाटीना ११० मा अन्य फिचर थप गरेर ल्याएको छ । यसका कम्पनीले डिजिटल स्पीडोमिटर दिएको छ । सेग्मेन्टमै पहिलो गियर इन्डिकेटर भएको मोटरसाइकल प्लाटीना बनेको छ ।
बजाज प्लाटीन ११० मा ११५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८.४४ बीएच पावर र ९.८१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स उपलब्ध छ ।
प्लाटीना मोटरसाइकलले हिरो स्प्लेन्डर प्लस, होन्डा सीडी ११० ड्रिम जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । बजाज प्लाटीना ११० भारतीय बजारमा सबैभन्दा धेरै विक्री हुने बजाजको मोटरसाइकलमा पर्छ । एबीएच फिचर थप भएर आए पश्चात् यसको विक्री अझै बढ्ने अनुमान गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डबल स्प्रीङ निट्रोक्स सस्पेन्सन दिइएको छ । कम्पनीले यसमा हलोजिन हेडल्याम्पका साथमा एलइडी डिआरएल लाइट उपलब्ध छ । बजाजले प्लाटीनमा ११ लिटर क्षमताको इन्धन ट्याङक दिइएको छ ।
नेपाली बजारमा प्लाटीना मोटरसाइकल विक्री हुँदै आएको छ । हाल नेपालमा प्लाटीना १०० इस भेरियन्ट विक्री भइरहेको छ । केहि समय पश्चात नेपाली बजारमा प्लाटीना ११० नेपाल आउने सम्भावना रहेको छ । प्लाटीना १०० इसको मूल्य १ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ । एबीएस भएको प्लाटीना नेपाल आउँछ वा आउने छैन अहिल्यै एकिन गर्न सकिदैन ।


