बीवाइडीको ब्याट्रीमा सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी

काठमाडौं । इलेक्ट्रीक भेहिकलको दौडमा निकै पछि रहेको तर, कम्बस्चनमा भारतमा ४० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार जनवरीमा ग्लोबल प्रिमियर गर्ने भएको छ ।

भारतकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्माताले आफ्नो पहिलो मोडल एसयूभीको रुपमा आगामी जनवरी १३ बाट ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ बाट ग्लोवल प्रिमियर गर्न लागेको हो ।

भारतीय ब्राण्ड टाटा एक्लैले ईभी सेग्मेन्टमा ८४ प्रतिशत बजार हिस्सा ओगटेसँगै मारुती सुजुकी आफ्नो पहिलो ईभी देखाउन लागेको हो । मारुती सुजुकीले नयाँ ईभी ‘२७ पीएल बर्न इलेक्ट्रीक स्केटबोर्ड आर्किटेक्चर’मा तयार गर्नेछ ।

‘वाईवाई–८’ कोड नेम दिएर उत्पादनको काम भइरहेको इलेक्ट्रीक एसयूभी सन् २०२५ को सुरुवातबाट मात्रै विक्री सुरु हुनेछ । मारुती सुजुकीले सन् २०१८ को अटो एक्स्पोमा फ्यूचर एस र सन् २०२० को अटो एक्स्पोमा फुटुरो इ कन्सेप्ट देखाएको थियो । तर, दुबै कन्सेप्टको थप डेभलपमेन्टको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।

मारुती सुजुकी वाईवाई–८ इलेक्ट्रीक एसयूभीमा ४८ किलोवाट आवर र ५९ किलोवाट आवर दुई फरक ब्याट्री अप्सन दिइने छ । यसको लङ रेन्ज मोडलले ५०० किलोमिटर रेन्ज दिने बताइन्छ । मारुती सुजुकीले यसमा बीवाइडीले विकास गरेको नयाँ टेक्नलोजीको एलएफपी ब्लेड ब्याट्री प्रयोग गर्नेछ ।

वाईवाई–८ ईभीको लम्बाई ४.२ मिटर र ह्वीलवेस २७ सय एमएमको हुनेछ । टु ह्वील र फोर ह्वील ड्राइभ अप्सनमा आउने एसयूभीमा रहने मोटरको विषयमा कुनै जानकारी बाहिर आएको छैन । यद्यपि, यो गाडीको टु ह्वील ड्राइभ मोडलमा १०० किलोवाट र फोर ह्वील ड्राइभ मोडलमा १२५ किलोवाट क्षमताको मोटर रहने अनुमान गरिएको छ ।


Back_to_top