अब एमजी फोरको रेन्ज ८०० किलोमिटर, अर्को महिना बिक्री सुरू हुँदै

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले सिंगल चार्जमा ८०० किलोमिटर रेन्ज दिनेगरी एमजी फोर बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी महिना (अगष्ट) बाट बिक्री सुरु गर्न लागेको एमजी फोरमा सेमी सोलिड स्टेट ब्याट्री दिएर ल्याउने भएको हो ।

एसएआइसी ग्रुपले यसमा ‘रेप्ट ब्याट्री इनर्जी’ले उत्पादन गरेको सेमी सोलिड स्टेट ब्याट्री प्रयोग हुने जनाएको छ । तर, अहिलेसम्म ब्याट्री साइजको विषयमा भने केही खुलाइएको छैन ।

मोरिस ग्यारेजको चर्चित र सफल ह्याचब्याक कार एमजी फोरमा व्यापक परिमार्जन भएर आउन लागेको हो । अहिले चीनमा यसको उत्पादन सुरु भइसकेको छ । युरोपमा सर्वाधिक सफल स्पोर्टी ह्याचब्याक कारको नयाँ जेनेरेशन मोडल ब्याट्री, साइज लगायतमा फरक भएर आउने भएको हो ।

नयाँ एमजी फोरको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम र उचाइ १५५१ एमएम दिएको छ । यसमा २७५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

चीनबाट ग्लोबल प्रिमियर भएको एमजी फोरमा १२० किलोवाटको इलेक्ट्रीक मोटर हुनेछ । यसको टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

नयाँ एमजी फोरको ग्लोबल प्रिमियरमा बोल्दै एमजी ब्राण्डका निर्देशक चेन क्वीले सेग्मेन्टमै पहिलो सेमी-सोलिड स्टेट ब्याट्री भएको एमजी फोर पहिलेको भन्दा अब्बल टेक्नोलोजी, धेरै इनर्जी डेन्सीटी, थप सुरक्षित र टिकाउ रहेको बताए ।

एमजीले यसमा ओप्पोसँग मिलेर बनाएको नयाँ ककपिट प्रयोगमा ल्याएको छ । त्यसैले यसले इनकार इन्टरफेस सपोर्ट गर्नेछ । भ्वाइस कमाण्ड र जेक्सचरमा आधारित नेभिगेसन पाउन सकिनेछ ।

कम्पनीले एमजी फोरको डिजाइनमा पनि व्यापक परिमार्जन गरेको छ । यसको फ्रन्ट ग्रिलमा व्यापक परिमार्जन देख्न सकिन्छ । एरो स्टाइल टेललाइट, पछाडि वारपार फैलिएको एलईडी लाइटबार, परम्परागत डोर ह्याण्डल, १७ इन्चको अलोय ह्वील दिइएको छ ।

एसएआईसी ग्रुपको नेबुला प्लेटफर्ममा बनेको नयाँ एमजी फोर नेपाली बजारमा पनि छिट्टै आउने मोडलमा पर्छ । युरोप, त्यसमा पनि बेलायतबाट यसको बिक्री सुरू हुने भएको कारण नेपालमा पनि चाँडै आउने गरेको विगत छ ।


Back_to_top