काठमाडौं । भारतको सर्वाधिक सफल इलेक्ट्रीक स्कुटर ब्राण्ड एथर नेपाल आउने पक्का भएको छ । बैद्य्ज अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले एथरका उत्पादन नेपाल ल्याउन लागेको हो ।
बैद्य्ज अर्गनाइजेशन टोयोटाको आधिकारीक बिक्रेता पनि हो । विगत ५६ वर्षदेखि टोयोटाका उत्पादन बिक्री गर्दै आएको उक्त अर्गनाइजेशनले दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन नेपाल ल्याउन लागेको हो ।
बैद्य इनर्जीलाई टोयोटापछि तेस्रो पुस्ताका सूयान्स बैद्यले सीईओको रुपमा नेतृत्व गर्ने छन् । नयाँ कम्पनीसँग समझदारी गरेको जानकारी दिदै उनले भने, ‘न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोवाइल क्षेत्र अगाडि बढिरहेको समयमा हामीले भारतकै प्रतिष्ठित इलेक्ट्रीक ब्राण्ड एथरको आधिकारीक वितरक पाएका छौं । यसलाई हामीले बस्तु वितरणको अधिकार मात्र नभई फ्यूचर मोविलीटीको क्षेत्र अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिएका छौं ।’
‘आफुहरु सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्छौ । त्यसमा एथरका उत्पादन फिट हुने हाम्रो विश्वास छ’, सीईओ बैद्यले भने ।
आफ्नो भावी योजना र रणनीतिका बारेमा बैद्य भन्न्छन्, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौ । एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं ।’
यस्तो हुने छ पहिलो मोडल
एथर इनर्जीका सीईओ तरुण मेहेताले आफुहरुको रोजाईमा पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल परेको संदेश दिएका छन् । आजै भारतमा पत्रकार सम्मेलन गरेर उनले नेपालमा एथरका उत्पादन बैद्य इनर्जीले बिक्री गर्ने घोषणा गरे ।
उनले भने, ‘नेपाल विद्युतीय साधनको प्रयोगमा तिब्र गतिमा अगाडि बढेको देश हो । नेपालमा क्लीन इनर्जीको उत्पादन राम्रो रहेको कारण मानिस पेट्रोलियम पदार्थको सट्टा ईभीको प्रयोगमा आकर्षित भएको देखिन्छ । त्यसैले हाम्रो छिमेकी देशबाटै हामीले हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा पठाएका छौं । नेपाली ग्राहकले नोभेम्बरबाट एथरका स्कुटर नेपालमा किन्न पाउने छन् ।

कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ नेपालमा बिक्री सुरु गर्नेछ । एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।
भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ ।
थप योजना बनाउँदै बैद्य इनर्जी
युवा नेतृत्वमा रहेको बैद्य इनर्जीले विद्युतीय साधनको पूर्ण साइकल निर्माण गर्नेछ । जहाँ शोरुम, सर्भिस सेन्टर, स्पेयर पार्टस् र चार्जिङ पूर्वाधार निर्माण हुनेछ । विशेषगरी इलेक्ट्रीक दुई पाङ्ग्रेको लागि इलेक्ट्रीक चार्जिङ पूर्वाधार नभएको जस्तै अवस्था अहिले रहेकोले कम्पनीले फास्ट चार्जिङ नेटवर्क बनाउने सीईओ बैद्यले जानकारी दिए ।
‘भारतमा पनि एथरको आफ्नै नेटवर्क छ । त्यहाँ चार्जिङको लागि विशेष योजनामा उनिहरुले काम गरिरहेका छन् । हामी पनि उनिहरुको सपोर्टमा चार्जिङ पूर्वाधार निर्माण गर्नेछौं’, सीईओ बैद्यले भने ।
नेपाली बजारमा उच्च गुणस्तरका विद्युतीय साधनको माग दिन दिनै बढ्दै गएको समयमा एथरका प्रोडक्टले ग्राहकलाई ठूलो फाइदा पुग्ने विस्वास कम्पनीले ब्यक्त गरेको छ । एकदमै कम मेन्टीनेन्स खर्च, इफिसीयन्ट र तिब्र गतिमा चलाउन सकिने एथरको मुख्य विशेषता हुन् ।

