काठमाडौं । एथरको सस्तो मूल्यमा आउने स्कुटरको उत्पादन सुरू भएको छ । कम्पनीले पहिलो पटक ‘कम्युनटी डे २०२५’ मा प्रदर्शन गरेको एथर ईएल प्लेटर्फम स्कुटरको उत्पादन सुरू गरेको हो ।
एथरका सीईओ तरुन मेहेताले आफ्नो सोसल मिडियामा एथर ईएल ०१ स्कुटरको उत्पादन सुरू भएको जानकारी सार्वजनिक गरेका हुन् । उक्त स्कुटर कम्युनटी डेको अवसरमा आगामी अगष्ट २९ मा सार्वजनिक गरिने उनले बताएका छन् ।
यसअघि कम्पनीले ईएल ०१ को कन्सेप्ट मोडल मात्र देखिएको थियो भने पहिलो पटक प्रडक्सन मोडल देखिएको हो । भारतमा कम्युटर स्कुटरको माग बढ्दै गएको अवस्थामा एथर ईएल ०१ ले नयाँ माइलस्टोन तय गर्न सक्ने देखिन्छ ।
मेहेताले सार्वजनिक गरेको तस्बिर हेर्दा ईएल ०१ कन्सेप्ट मोडलसँग निकै मिल्दो जुल्दो रहेको छ । स्कुटरको ह्याण्डलबारमा माउन्ट गरिएको हेडलाइट, अगाडिको भागमा चौडा एलईडी डीआरएल, ठूलो फ्रन्ट प्रोफाइल र सामान्य फ्रन्ट फेण्डर जस्ता फिचर देखिएका छन् ।
स्कुटरमा फ्ल्याट फ्लोरबोर्ड राखिएको छ, जसले दैनिक प्रयोगलाई अझ सहज बनाउने देखिन्छ । साथै, लामो सिंगल पिस सिटले चालक र पछाडि बस्ने व्यक्ति दुवैलाई आरामदायी अनुभव दिनेछ । स्कुटरको पछाडिको डिजाइन सरल र व्यवहारिक छ ।
कम्पनीको हालको लाइनअपमा यो नयाँ स्कुटर एथर रिज्टाभन्दा मुनिको मोडल हुनेछ । ४५० सिरिज पर्फमेन्स खोज्ने ग्राहक र रिज्टा पारिवारिक प्रयोगका लागि केन्द्रित छ । नयाँ ईएल प्लेटफर्म स्कुटर मास मार्केट र किफायती मूल्य वर्गलाई लक्षित छ ।


