पृथक डिजाइनका चिनियाँ कारमा झुम्मिँदै उपभोक्ता, मूल्य निर्णायक

काठमाडौं । जेनजी मुभमेन्टपछि कार बजारमा केही सुस्तता आएको देखिन्छ । आर्थिक गतिविधिमा आएको संकुचनको कारण अर्थतन्त्रको वृद्धि पनि ३ प्रतिशत हाराहारीमा खुम्चिने प्रक्षेपण गरिएको छ । यसले समग्र व्यापार चक्रमै असर पर्छ ।

अहिले नेपाली बजारमा करिब ५ दर्जन ब्राण्डका गाडी उपलब्ध छन् । त्यसमा सबैभन्दा धेरै ब्राण्ड चीनबाट आयात भएका छन् । भारत, जापान, युरोप र अमेरिकन ब्राण्डको पनि उपस्थिति हाम्रो बजारमा छ ।

विद्युतीय गाडीको बिक्रीमा आएको उछालसँगै नयाँ ब्राण्डहरू बजारमा आए । त्यसमा पनि चिनियाँ ब्राण्डको संख्या तुलनात्मक रूपमा धेरै भयो । त्यसैले गाडीको ब्राण्डभन्दा मोडलतर्फ उपभोक्ताको ध्यान मोडियो ।

अहिले बजारमा बीवाइडी, एमजी, ओमोडा/जेको/आइकार, दीपल, डोङफेङ, लीपमोटर जस्ता ब्राण्ड तुलनात्मक रूपमा बलियो देखिएका छन् । यी मध्ये अधिकांश ब्राण्ड हरेक समयम एउटा मोडलको भरमा चलिरहेको देख्न सकिन्छ ।

माथि नाम उल्लेख भएका ब्राण्ड मध्ये बीवाइडी संख्यात्मक रूपमा धेरै गाडी बिक्री गर्ने कम्पनी हो । बीवाइडीले समग्र प्यासेन्जर कार बजारमै ठूलो अन्तरसहित लिड गरिरहेको देख्न सकिन्छ । एकभन्दा धेरै प्रोडक्ट एक साथ बजारमा ल्याउने र सफल पनि हुने ब्राण्डमा बीवाइडी सबैभन्दा अगाडि छ ।

साइमेक्स इंकले यस वर्षको साउन र भदौमा बीवाइडीका तीन मोडल एक महिनाको अन्तरमा ल्यायो । पृथक डिजाइन भएका एटो वान, एटो टु र सिलायन सेभेन सबैले आफ्नो सेग्मेन्ट लिड गरिरहेका छन् ।

कुरा गरौं एमजीको । पारामाउन्ट मोटर्स आधिकारिक बिक्रेता रहेको एमजीले एस फाइभ मोडल ल्याएर आफ्नो बिक्रीलाई ब्यालेन्स गर्न सफल भयो । अहिले एमजी गाडी किन्नेको पहिलो रोजाइ एस फाइभ एसयूभी बन्दै आएको छ ।

ओमोडा/जेको/आइकार ब्राण्डमा गाडी ल्याएर बिक्री गर्दै आएको एसपीजी अटोमोबाइलको लागि नयाँ आएको आइकार सबैभन्दा हटकेक छ । उसको जेको जे फाइभ पनि नयाँ मोडल नै हो । तर, अहिले सबैभन्दा चर्चामा आइकार भी-२३ नै छ ।

दीपलको गाडी नेपालमा प्रिमियम ब्राण्डका रूपमा हेर्न थालिएको छ । यसअघि एस-०७ मोडलले चर्चाको शिखर चढाएको कम्पनीलाई अहिले एस-०५ ले बलियो बनाउँदै लगेको छ ।

डोङफेङ नामी, लीपमोटर बी-१० जस्ता मोडलले पनि कम्पनीको आ-आफ्नो ब्राण्डलाई प्रतिनिधित्व गर्दैछन् । समग्रमा उपभोक्ताले आफ्नो गाडी पृथक खोजेको अनुभूति गर्न पाइन्छ ।

मूल्य पनि निर्णायक

गाडीको डिजाइनसँगै मूल्य पनि निर्णायक हुँदै आएको छ । चिनियाँ उत्पादन बीच तीव्र प्रतिस्पर्धा हुँदा उपभोक्ताले मूल्य पनि राम्रै पाएका छन् ।

गाडीको डिजाइन, फिचर र मूल्य हेरेर नै विद्युतीय कारमा उपभोक्ता निर्णय लिँदै आएका छन् ।


Back_to_top