काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको कारण बन्द रहेका भारतीय अटोमोवाइल उत्पादक कम्पनीहरु आजबाट खुल्ला हुने भएका छन् । अहिले कम्पनीहरु आंशिक खुल्ला भएर काम सुरु गर्न लागेका हुन् ।
भारतमा अहिले करिब दुई दर्जनभन्दा बढी ब्राण्डका कार तथा मोटसाइकल उत्पादन प्लान्टहरु संचालनमा रहेका छन् । यी सबै कम्पनीहरुले मे महिनामा आफ्नो क्षमताको करिब २५ प्रतिशत उत्पादन सुरु गर्ने जनाएका छन् ।
मारुती सुजुकी, हुन्डाई, होन्डा, महिन्द्रा, टाटा, टोयोटा जस्ता कम्पनीले यो हप्ता सामान्य काम सुरु गर्ने जनाएका छन् । फोर्ड र फक्सवागनले भने आगामी हप्ता मात्र काम सुरु गर्ने जनाएका छन् ।
सुजुकीले हरियाणा र गुजरातको प्लान्ट संचालनमा ल्याउन लागेको हो । यी बाहेकका कम्पनीले आफ्नो प्लान्टलाई एक सिफ्ट मात्र संचालनमा ल्याउने तयारीमा जुटेका छन् ।
यहि हिसावले कारको उत्पादन हुने हो भने मासिक ५० हजारदेखि ७० हजार यूनिट कार उत्पादन हुने जनाइएको छ । त्यसपछि क्रमिकरुपमा उत्पादन बढाउने योजनामा कम्पनीहरु लागेका छन् ।

