काठमाडौं । बैंकिङ क्षेत्रले व्यवसायी प्रयोजनका सवारीसाधनमा लगानी बढाउँदै लगेका छन् ।
पछिल्ला दिनमा व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनभन्दा व्यावसायिक प्रयोजनका सवारीसाधनमा बैंकहरूको लगानी ३ वर्षमा झन्डै दोब्बरले बढेको छ ।
हालसम्म हायरपर्चेज कर्जाको शीर्षकमा बैंकहरूले १ खर्ब ६२ अर्ब ४७ करोड ८७ लाख लगानी गरेका छन् ।
सन् २०१६ को जुलाई महिनासम्म करिब ६४ अर्ब ४९ करोड ३९ लाख लगानी गरेका बैंकहरूले २०१७ को जुलाईमा करिब २५ अर्बले लगानी बढाएर ८९ अर्ब ४८ करोड ६२ लाख पुर्याएका थिए । चालु आर्थिक वर्षको ८ महिनासम्म आइपुग्दा यस्तो लगानी १०१ अर्ब १३ करोड १६ लाख पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी, सन् २०१६ को जुलाईसम्ममा व्यक्तिगत प्रयोजनका लागि आउने सवारीसाधनमा ४५ अर्ब ५९ करोड २१ लाख रुपैयाँ लगानी गरेका बैंकहरूले २०१७ को सोही अवधिसम्ममा ५९ अर्ब ८४ करोड ५० लाख लगानी गरेका थिए ।
विगतको तुलनामा निजी सवारीसाधनमा बैंकहरूको लगानी खासै बढ्न सकेको छैन। चालु आवको ८ महिनामा ६१ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ लगानी भएको छ ।
हालसम्म हायरपर्चेज कर्जाको शीर्षकमा बैंकहरूले १ खर्ब ६२ अर्ब ४७ करोड ८७ लाख लगानी गरेका छन् । यसका अलावा सहकारीको माध्यमबाट गएको ऋणको भोलुम निकै ठूलो रहेको छ ।