मोटरसाइकल र कार विक्रीमा देखिएको सन्नाटा कहिलेसम्म ?

काठमाडौं । सन् २०२१ मा करिब २२ हजार प्यासेन्जर कार र ३ लाख ३० हजार हाराहारी मोटरसाइकल तथा स्कुटर विक्री भएको नेपाली बजारमा सन् २०२२ निकै निराशाजनक बन्न पुग्यो । सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध, सवारी कर वृद्धि र सवारी कर्जामा गरिएको कडाइले गाडी आयात ६० प्रतिशत हाराहारीले घट्यो ।

लगातार १० महिनासम्म लगाइएको आयात प्रतिबन्ध र विक्रीमा आएको गिरावटको कारण गाडीका शोरुम सुनसान बन्न पुगे । हाम्रो उदयीमान बजारमा गाडीको शोरुम बढ्नुको सट्टा मुख्य सहरहरूमै खुलेका विक्री केन्द्रा बन्द भए । देशभर अहिलेसम्म ७० हाराहारी शोरुम बन्द भइसकेका छन् । गाडीको मात्रै होइन अहिले दुईपाङ्ग्रे सवारीसाधनको विक्री पनि निकै कम भइरहेको छ । त्यही कारण मोटरसाइकलका शोरुमहरू समेत धमाधम बन्द हुन थालेका छन् ।

अटोमोबाइल बजार विगत १७ महिनादेखि नै निकै समस्यामा देखिएको थियो । बजारमा तरलता अभाव सृजना भएसँगै सुरू भएको संकट अझै थामिने कुनै संकेत देखिएको छैन । पछिल्लो एक वर्षदेखि सबै किसिमका व्यापारिक क्षेत्रमा आएको गिरावटले मानिसको खर्च गर्ने ‘कन्फिडेन्ट’ नै हराएको देखिन्छ । विशेषतः सेयर बजार, घरजग्गा, ट्रेडिङ व्यवसाय आएको गिरावटले हाम्रो अर्थतन्त्रको जग नै हल्लाइदिएको छ । यसले हाम्रा नीति निर्मातालाई गिज्याएको प्रष्टै देखिन्छ ।

‘अर्थतन्त्रमा समस्या देखिएपछि राष्ट्र बैंकले निकै कडा नीति लिएको थियो । यसलाई सुरूमा व्यवसायीले स्वभाविक प्रक्रियाको रूपमा लिए । तर, क्रमिक रूपमा यो समस्या गहिरिँदै जाँदा हाम्रो व्यवसायिक सिस्टम नै बिग्रियो,’ नाडाका अध्यक्ष ध्रुव थापाले भने ।

सरकारलाई आवश्यक पर्दा सहयोग गर्नुपर्छ भन्ने आफूहरूको मान्यता भए पनि पछि सरकारले थप कठिन अवस्था सृजना गराएर व्यवसाय गर्नै नसक्ने अवस्था ल्याएको थापाको भनाइ छ ।

अहिलेको अवस्थालाई लिएर थापा भन्छन्, ‘हाम्रा शोरुम एकपछि अर्को बन्द भइरहेका छन् । सरकारले विशेष परिस्थिति भनेर गरेको कडाइ अहिलेपनि खुला गरेको छैन । चर्को ब्याजदर, कर्जामा कडाई, १५० प्रतिशतको जोखिमभार जस्ता कारण गाडी किन्ने र लगानी गर्ने दुवैलाई समस्या भएको छ ।’

कहिले सुधार होला अवस्था ?

समग्र अर्थतन्त्र नै सिथिल बनेको कारण गाडी तथा मोटरसाइकलको विक्री कहिलेबाट हुन्छ भन्ने एकीन छैन । सुरूमा अर्थतन्त्र चलायमान बनाउने केही क्षेत्रमा सकारात्मक प्रभाव देखिनु पर्छ ।

मानिसले दैनिक प्रयोग गर्ने लत्ताकपडादेखि खाद्यान्नसम्मको व्यवसाय राम्रो हुन नसकेको समयमा गाडी र मोटरसाइकल विक्रीमा तत्काल सुधार आउने दखिँदैन ।

‘अघिल्लो वर्षको तुलनमा तरलता निकै सहज अवस्थामा पुगेको छ । यद्यपि, अहिले पनि अन्तर बैंक ब्याजदर ८ प्रतिशत हाराहारीमै रहेको अवस्थामा बजारमा लगानी योग्य रकम बढ्ने र ब्याजदर घट्ने अवस्था आइहाल्छ भन्न कठिन हुन्छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले मेरोअटोसँग भने ।

कोभिड लगायतको कारण आयात रोकिएको, लगानी नबढेको र रेमिट्यान्स आयात निरन्तर रहेको कारण आर्थिक वर्ष २०७७/७८ मा बैंकसँग लगानी योग्य रकम थुर्पेको बताउँदै पवक्ता भट्ट भन्छन्, ‘अब हुने आयातको अवस्था, रेमिट्यान्स आयात र पेट्रोलियम पदार्थ लगायतको मूल्यले तरलताको अवस्था देखाउँछ । तरलता सहज भएपछि अन्य आर्थिक गतिविधि बढ्ने हो ।’

यसरी हेर्दा चालु आर्थिक वर्षको अन्त्यसम्ममा केही सहज अवस्था तयार हुने अपेक्षा भने गर्न सकिन्छ ।

 


Back_to_top