काठमाडौं । नयाँ कार किनेपछि कम्पनीले नदिएका फिचरहरु थप्ने चलन बढ्दो छ । आफ्नो सवारीलाई आकर्षक देखाउन वा सुविधाहरु थप्नका लागि यस्ता एशोसरीज प्रयोग गर्ने गरेको पाइन्छ ।
सुविधाका लागि थपिने यस्ता एशोसरीजले कारको वास्तविक स्वरुपलाई विगारेर दुर्घटना समेत हुने गरेको पाइन्छ ।
कम्पनीका हजारौ इन्जिनीयरहरुले आधुनिक प्रविधिको प्रयोग गरेर बनाएको स्वरुपमा सकेसम्म परिवर्तन गर्नु हुँदैन । हामीले चलन चल्तीमा रहेका तर प्रयोग गर्न नहुने केही एशोसरीजको बारेमा यहाँ चर्चा गरेका छौं ।
१. स्किृन सहितको आईआरभीएम
धेरै कारको वेस भेरियन्टमा टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम हुँदैन । उक्त सुविधाको लागि सबैभन्दा सस्तो माध्यम भनेको रियर भ्यू मिररलाई परिवर्तन गरेर नयाँ स्कृन राख्ने गरेको पाइन्छ ।

यस्तो स्कृनले सजिलो भन्दा पनि धेरै अफ्ठ्यारो पार्छ । यसले मूख्यतया पछाडि बाटोमा भइरहेका गतिविधि हेर्न गाह्रो बनाउँछ । त्यस्तै यसरी परिवर्तन हुने स्कृन गुणस्तरहीन हुने भएकाले विस्तारै ब्राइटनेस गट्दै जान्छ । यसले गाडी व्याक गर्नु पर्दासमेत कठिन बनाउँछ ।
२. स्टेरिङ स्पिनर
एक हातले गाडीको स्टेरिङ चलाउँदा कतिपय चालकहरुले आफूलाई ‘प्रो’ सोच्छन् । एक हातले गाडीको स्टेरिङ चलाउनको लागि स्पिनर प्रयोग गर्ने बढिरहेका छन् । यस्तो स्पिनरको प्रयोग नगर्न कार म्यानुफ्याक्चर कम्पनीहरुले सुझाएका छन् ।

स्पिनर प्रयोग भएको कार अचानक ब्रेक लगाउनु पर्दा दुर्घटना भएको कयौँ उदारण पाइन्छ । सधैँ दुबै हातले कारको स्टेरिङ चलाउने सुरक्षाको हिसावले उत्कृष्ट मानिन्छ ।
३. फल्स सिटबेल्ट बकल

आजकल कारहरुमा चालक र यात्रुहरुको सुरक्षाका लागि विशेष सतर्कता अपनाएको हुन्छ । कारले अगाडि बस्ने चालक र यात्रुलाई सिटबेल्ट बाध्न वार्निङ गरिरहेको हुन्छ । साथै, कतिपय कारहरुले अगाडि सहचालकले सिटबेल्ट नलगाएसम्म निरन्तर आवाज निकालिरहन्छ । सिटबेल्ट नलगाउनका लागि कारमा फल्स सिटबेल्ट बकल प्रयोग गरिएको देखिन्छ । यो उपर्युक्त होइन किनकी सिटबेल्ट भनेको सुरक्षाका लागि हो, सबै यात्रुले अनिवार्य लगाउनु पर्छ ।
४. बुल बार
कारलाई स्पोर्टी देखाउन तथा कारको बम्पर बचाउनका लागि बुलबारको प्रयोग गरिएको हुन्छ । बुल बारले कारको बम्परलाई त बचाउँछ तर, यसको प्रयोगले पैदल यात्रुहरुलाई भने घातक असर पुर्याउन सक्छ ।

बुल बारको प्रयोग भएको कार दुर्घटनामा परेमा इम्प्याकलाई बारले आफूमा सोस्छ र कारमा भएका एयरव्याग समेत खुल्दैनन् । जसका कारण कारमा यात्रा गर्ने चालक र यात्रीलाई गम्भीर चोट लाग्न सक्छ ।
५. प्रेशर हर्न
प्रेशर हर्नका प्रयोगले अनावश्यक ठूलो आवाज निकाल्छ । जसका कारण ध्वनी प्रदुषण हुन्छ । त्यस्तै यस्ता हर्न बज्नका लागि धेरै मात्रामा व्याट्रीको पावर लाग्ने भएकोले यस्ता हर्न प्रयोग भएको गाडीमा व्याट्री समेत चाडै खराव हुन्छ । नेपालमा ट्राफिक प्रहरीले नै प्रेशर हर्न भएका गाडीलाई कारवाही गर्ने भएकोले यसको प्रयोग गर्नु हुँदैन ।

६. सनरुफ
कारमा सनरुफको प्रयोग व्यापक रुपमा हुन थालेको छ । हुनत सनरुफको वास्तविक प्रयोग केही पनि छैन । तरपनि, सनरुफ नभएको गाडीमा समेत यदाकता सनरुफ थप्ने गरेको देखिन्छ ।
कम्पनीले दिएको वाहेक बाहिरबाट सनरुफ थप्नु राम्रो होइन । यस्तो कार्यले गाडीको स्ट्रक्चरमानै असर पर्न सक्छ । साथै, बाहिर बजारबाट हालेका यस्ता सनरुफ छिटै बिग्रने तथा ठूलो वर्षातमा चुहिने समेत हुन्छ ।
७. ओभर साइज रिम

कतिपय एसयूभीका चालकहरुले कम्पनीले दिएका भन्दा ठूलो साइजको रिम प्रयोग गरेको समेत देखिएको छ । हेर्दा राम्रो देखिए पनि कम्पनीले दिएको भन्दा ठूलो साइजको रिमको प्रयोगले दुर्घटना निम्त्याउन सक्छ । ठूलो रिममा लाग्ने ठूलो टायरले बाटोमा फ्रिक्सन बडाउने भएकोले इन्धनको खपत समेत बढ्छ । त्यसकारण कम्पनीले दिएको साइजभन्दा ठूलो साइजको रिम तथा टायर प्रयोग गर्नु हुँदैन ।

