काठमाडौं । नेपालमा एक्सचेन्ज मेला सामान्य हुँदै गएको छ । एकपछि अर्को ब्राण्डले एक्सचेन्ज मेला आयोजना गर्ने हुँदा पुराना मोटरसाइकल दिएर नयाँ किन्ने ग्राहकलाई अवसर बन्दै गएको छ ।

नेपालको सबैभन्दा धेरै मोटरसाइकल विक्री गर्ने ब्राण्ड बजाजले काठमाडौंको भृकुटीमण्डपमा जेठ १८ गतेदेखि ग्राहकलाई अफरै अफर दिएर ‘महामेला’ आयोजना गरिरहेको छ । यो मेला अगामी जेठ २४ गते मंगलबारसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

स्कीम धेरै पाउने भएकाले मोटरसाइकल साट्ने र किन्ने ग्राहकको उपस्थिति निकै राम्रो भइरहेको कम्पनीले जानकारी दिएको छ । यो मेलामा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल वा स्कुटर ल्याएर बजाजका नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । यसरी आउने ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटरमा बजार मूल्याङकनमा थप १० हजार रुपैयाँ दिने जनाएको छ । त्यस्तै नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ छुट पाउने छन् ।

साथै, मेलामा स्पट फाइनान्सको सुबिधा, ४० प्रतिशत डाउन पेमेन्टमा पनि शून्य प्रतिशत ब्याजदरमा कर्जा र मोटरसाइकल किन्नेलाई निःशुल्क एशोसरिज दिने कम्पनीले जनाएको छ ।

मेलामा बजाज पल्सर २२० किन्ने सोच बनाएका ग्राहकहरुले २० हजार रुपैयाँ कममा मोटरसाइकल किन्ने अवसरसमेत पाउने छन् । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले मेला पश्चात् बजाज पल्सर २२० एफको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ पुग्ने सुचना यसअघि नै प्रकाशन गरेको छ । मेला अवधिभर पल्सर २२० एफ किन्ने ग्राहकले ३ लाख ७४ हजार ९०० रुपैयाँ तिर्दा पुग्छ ।

