अटो क्षेत्रका ६१ वर्षे दाहालको जोश, एकै वर्ष तीन म्याराथन पुरा

काठमाडौं । सिप्रदी ट्रेडिङ्गका निर्देशक शम्भुप्रसाद दाहालले उमेरले ६१ वर्षका भए । केही दिनअघि सकिएको ‘तेन्जिङ-हिलारी एभरेष्ट म्याराथन’मा दौड पुरा गरेसँगै उनको सफलता चर्चामा आएको छ । विश्वकै सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ’तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ पुरा गर्न दाहालले ९ घण्टा २९ मिनेट १४ सेकेन्डमा लगाएका थिए ।

यसअघि दाहालले सन् २०२२ को फेब्रुअरीमा भएको ४२.९ किलोमिटर दुरीको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र ४९ किलोमिटरको दुरी रहेको तेश्रो जुम्ला रारा अल्ट्रा म्याराथन सफलता पुर्वक पुरा गरेका थिए ।

‘तेन्जिङ-हिलारी एभरेष्ट म्याराथन’ ५ हजार ३६४ मिटर उचाईमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरू भएको थियो । त्यहाँबाट घरेपानी, लोबुचे पास, ढुङ्ला पास, डिंबोचे, फिरेची पास, ताकबोचे हुँदै ३ हजार ४४० मिटर उचाईमा भएको नाम्चे बजारसम्मको दुरीमा भएको थियो । एभरेष्ट बेस क्याम्पदेखि नाम्चे बजारसम्मको कुल दुरी ४२.१९५ किलोमिटर रहेको छ ।

हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण गरिएको थियो । सन् २०२२ को सोही दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवसको ६९औं वार्षिकोत्सव अवसरमा निर्देशक दाहालले पनि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पुरा गरेका हुन् ।

सिप्रदी ट्रेडिङ्गका निर्देशक शम्भुप्रसाद दाहाल

दाहालले आफु म्याराथनमा सहभागी हुन पाउँदा शारीरिक तथा मानसिक हिसाबले स्वस्थ भएको बताए । ‘शारीरिक र मानसिक रूपले स्वस्थ रहँदा त्यसले आफ्नो सम्पूर्ण उत्पादकत्व झन् विकास हुने हुँदा सबैलाई खेलकुदमा रुचि राखी निरन्तर लाग्न अपिल गर्छु’, दाहालले भने ।

सगरमाथा म्याराथनको अनुभव सुनाउँदै दाहाल भन्छन्, ‘खुम्बु भ्यालीको उच्च शेर्पा ट्रेलहरू पार गर्दै गर्दा मलाई एक मन नमिठो पनि लाग्यो । त्यहाँको सौन्दर्यले लोभ्याउँछ नै तर, जलवायु परिवर्तनको नकारात्मक असरहरू त्यहाँ पर्दा नमिठो लाग्छ । हिमालमा हिउँको मात्र घट्दै गएको देखिन्छ । तर, मानवजातीले यस विषयमा चासो देखाएको पाइन्न ।’

उक्त ६९ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिन विभिन्न २४ देशका १४७ जना सहभागी थिए ।

विगत लामो समयदेखि दाहालले सिप्रदीयन सहायता संस्था मार्फत खेलकुद र योसँग सान्दर्भिक कार्यक्रमहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । संस्थाले जुम्लास्थित कर्णाली स्पोर्ट क्लबसँगको सहकार्यमा १६ देखि २० वर्ष उमेरका केटाकेटीहरूका लागि ’अल्ट्रा–म्याराथन रनिङ ट्रेनिङ छत्रावृत्ति’ प्रदान गर्दैछ । त्यस्तै, कम्पनीले १२ देखि १३ वर्ष उमेरका केटाकेटीहरूलाई फुटबल ट्रेनिङको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ ।


Back_to_top