काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल १५० सीसी सेग्मेन्टको हो । यसमा बजाज पल्सर १५० र होन्डा हंक बीचको प्रतिस्पर्धा बजारमा रोचक देखिदैन । तर, मूल्य, फिचर र पावरमा भने राम्रै प्रतिस्पर्धा हुन्छ ।
बजाज पल्सर १५० नेपालमा सबैभन्दा बढी विक्री हुने मोडल हो । सन् २००१ देखिनै निरन्तर बजारमा रहेको पल्सरलाई टक्कर दिन अर्को कुनै पनि मोडललाई सहज छैन ।
हिरोले केही महिनाअघि नेपाली बजारमा ल्याएको हंक पल्सरसँग सिधा प्रतिस्पर्धा गर्न सक्ने मोडल देखिएको छ । तर, पनि हंकको विक्री ठिकठाक मात्रै देखिन्छ । यस्तोमा यी दुई मोडलमा भएका फिचरको भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
कुरा गरौं मूल्यबाट, यी दुई मोडलमा बजाज पल्सर १५० टीडी हिरो हंकको तुलनामा ८ हजार ४०० रुपैयाँ महंगो छ । हिरो हंकको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँ रहेको छ भने बजाज पल्सर १५० टीडीको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

मोटरसाइकल किन्दा धेरैले खोज्ने अर्को विषय हो इन्जिन र पावर । बजाजले पल्सरमा १४९.५ सीसी क्षमताको ट्वीन स्पार्क डिटीएस–आई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १४ पीएस पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क प्रदान गर्छ ।
हिरो हंकमा १४९.२ सीसी क्षमताको इन्जिन उपलब्ध छ । यसमा रहेको इन्जिन पल्सरको तुलनामा पावरफुल रहेको छ । हिरो हंकको इन्जिनले अधिकतम ८५०० आरपीएममा १५ पीएस पावर र १२.६ एनएम टर्क प्रदान गर्छ । यसको टर्क भने पल्सर १५० को तुलनामा कम छ ।
अब कुरागरौं सस्पेन्सनको दुबै मोटरसाइकलमा अगाडि टेलिस्कोपीक सस्पेन्सन पाउन सकिन्छ । पछाडि बजाजले ५ तरिकाले मिलाउन मिल्ने निट्रोक्स शक एब्जर्वर दिएको छ भने हिरोले ७ तरिकाले मिलाउन मिल्ने मोनोशक दिएको छ ।
नेपालमा सर्वाधिक चासो हुने अर्को विषय भनेको ब्रेकिङ सिस्टम हो । दुबै मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । बजाजले पल्सर १५० को अगाडि चक्कामा २६० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक प्रयोग गरेको छ ।

हिरोले अगाडि २७६ एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक दिएको छ । हिरोले अगाडि ठूलो साइजको डिस्क प्रयोग गरेको छ भने, बजाजले पछाडि ठूलो डिस्क प्रयोग गरेको छ ।
यहाँ यी दुईमा फरक एबीएसमा छ । हिरो हंकमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ भने पल्सर १५० टीडीमा एबीएस छैन ।
दुबै कम्पनीले १७ इन्चको अलोय ह्वील प्रयोग गरेका छन् । दुबैमा ट्यूवलेस टायर पाउन सकिन्छ । समग्रमा बजाज पल्सरको कर्ब वेट ४ किलोग्राम कम छ । पल्सर १५० टीभीको कुल तौल १४४ केजी छ भने हिरो हंकको तौल १४८ किलोग्राम रहेको छ । तौलको फाइदा माइलेजमा देखिने भएकाले हंकको तुलनामा पल्सरको माइलेज राम्रो छ ।


