थाइल्याण्ड अटो शोमा बुकिङ भयो ७७ हजार कार, चिनियाँ ब्राण्डको दबदबा

काठमाडौं । १४ दिन लामो बैंकक इन्टरनेशनल मोटर शोमा कुल ७७ हजार ३७९ युनिट कार बुकिङ भएको आयोजकले जनाएको छ । अटो आयोजकका अनुसार अघिल्लो वर्ष भएको अटो शोको तुलनामा यस वर्ष २३ हजार ९४१ युनिट बढी कार बुकिङ भएको हो ।

अघिल्लो वर्षको तुलनामा ४१.६३ प्रतिशतले बुकिङ वृद्धि हुँदा चिनियाँ ब्राण्डको दबदबा देखिएको हो । सन् २०२२ सम्म जापानी ब्राण्ड टोयोटा, होन्डा, निसान, माज्दा, सुबरु जस्ता ब्राण्ड बलिया थिए । तीन वर्षकै बीचमा चिनियाँ ब्राण्डहरुले आफुलाई बलियो बनाएका हुन् ।

यस वर्षको अटो शोमा चिनियाँ ब्राण्ड बीवाइडी पहिलो भएको छ । बीवाइडीले ९ हजार ८१९ युनिट र डेन्जाले ५३४ युनिट बुकिङ पाएको छ । दुबै मिलाउँदा समग्रमा बीवाइडीले १० हजार ३५३ युनिट कार बुकिङ लिएको हो ।

दोस्रो धेरै बुकिङ टोयोटाले पाएको छ । उसले ९ हजार ६१५ युनिट कार बुकिङ लिएको हो । तेस्रो स्थानमा चिनियाँ ब्राण्ड जिएसी एवोन परेको छ । उसले ७ हजार १८ युनिट कार बुकिङ पाउँदा चौथो स्थानमा रहेको दीपलले ६ हजार ५८९ युनिट बुकिङ पाएको थाइलयाण्डको अटोलाइफ मिडियाले उल्लेख गरेको छ ।

होन्डाले ५ हजार ९४८ युनिट, एमजीले ५ हजार ९१० युनिट र ग्रेटवाल मोटरले ४ हजार ९५९ युनिट बुकिङ लिएको जनाएका छन् । जापानी ब्राण्ड मित्सुवीसीले ४ हजार ३९८ युनिट सहित आफुलाई आठौं स्थानमा राख्दा, निसानले ३१३९ र इसुजुले २ हजार ९८९ युनिट बुकिङ लिदै आफुलाई १० धेरै बुकिङ पाउने ब्राण्ड भित्र राख्न सफल भएका छन् ।

थाइल्याण्डमा ओमोडा÷जेको ब्राण्डले २ हजार ५६८ युनिट, माज्दाले २ हजार ३५३ युनिट, एक्सपेङले १ हजार ३९९ युनिट, नेटाले १ हजार २१९ युनिट र जिकरले १ हजार १९६ युनिट कार बुकिङ लिएका छन् ।


Back_to_top