कर्जा दिन सक्ने बैंकले पनि दिदैनन् ‘डिओ’

काठमाडौं । अहिले औषत बाणिज्य बैंकको सीडी रेसियो ८५ प्रतिशत हाराहारी भएपनि बैंकहरुले गाडी किन्ने ग्राहकलाई डेलिभरी अर्डर (डिओ) दिइरहेका छैनन् । बजारमा गाडीको माग भएपनि बैंकले कर्जा नदिदा डेलिभरी दिन नसकिएको अटोमोवाइल ब्यवसायीको भनाई छ ।

अहिले नयाँ वर्षको समय भएपनि आर्थिक गतिविधि नबढ्दा अटोमोवाइल ब्यबसाय सुनसान छ । काठमाडौंको थापाथली, नक्सालदेखि देशको मुख्य सहरहरुमा संचालन भएका शोरुमहरुबाट गाडी डेलिभरी हुन सकेको छैन ।

बैंक तथा वितिय संस्थाले दिने अटो लोनमा कडाइ गर्न भन्दै केन्द्रिय बैंकले बढाएको जोखिमभार कै कारण बैंकहरुले कर्जा लगानी गरिरहेका छैनन् । यसको प्रभाव सवारीसाधन बुकिङ भएपनि डेलिभरी हुन नसक्नुबाट प्रस्ट हुन्छ ।

अहिले शोरुममा ग्राहकको ‘फुटफल’ भएपनि गाडी डेलिभरी लिने ग्राहक भने अत्यन्त न्यून रहेको कम्पनीहरुको भनाई छ । विगतका वर्षहरुमा धेरै कार विक्री गर्ने मध्येको एक सिजी मोटोकर्पका मार्केटिङ प्रमुख करुण शाक्य भन्छन्, ‘शोरुममा मानिसको चहलपहल छ, तर त्यो विगतका वर्षभन्दा कम छ । बुकिङ गरेका ग्राहकले पनि डिओ ल्याएर गाडी सहजै लान सकेका छैनन् ।’

सुजुकीले आयत खुल्ला भएपछि दुई नयाँ मोडल बजारमा उतारेपनि विक्रीमा भने धेरै उत्साह देखिएको छैन । कम्पनीले नयाँ जेनेरेशन ब्रेजा र ग्राण्ड भिटारा मोडल नेपाल ल्याएर विक्री सुरु गरेको छ ।

आयात खुल्ला भएसँगै अर्को सर्वाधिक सफल ब्राण्ड हुन्डाईले पनि नयाँ फेसलिफ्ट भेन्यू नेपाल ल्याएको थियो । अहिले ग्राहकहरु शोरुममा गाडी हेर्न आउने बढेको भएपनि विक्री नै बढ्ने अवस्था नभएको हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सिनियर म्यानेजर दिवाकर रेग्मी बताउँछन् ।

‘अहिले ईभीदेखि इन्टरनल कम्बस्चन इन्जिन भएका गाडी हेर्ने मानिस छन् । तर, बैंकहरुले कर्जा दिन ढिलाई गर्दा किन्ने मानिसले आँट गर्न सकिरहेका छैनन् । अहिलेको चुनौति नै बैंकबाट डिओ ल्याएर डेलिभरी दिनु हो’, रेग्मीले मेरोअटोसँग भने ।

गाडी विक्रीमा आएको गिरावट कै कारण चालु आर्थिक वर्षको ९ महिनामा केवल २ हजार ४५१ यूनिट विद्युतीय कार र २ हजार ८ यूनिट मात्रै इन्टरनल कम्बस्चन इन्जिन भएका चार पाङ्ग्रे साधन आयात भएका छन् । यसले बजारमा अटोमोवाइलको ब्यापार कस्तो छ भन्ने देखाउँछ । आर्थिक वर्ष २०७७/७८ मा झण्डै २२ हजार चार पाङ्ग्रे साधन विक्री भएकोमा आर्थिक वर्ष २०७८/७९ मा ११ हजार यूनिट कार विक्री भएको थियो ।

चालु आवको ९ महिनामा केवल ४ हजार ४५९ यूनिट मात्रै कार आयात भएको देख्दा यो वर्ष ६ हजार यूनिट हाराहारी मात्रै कारको विक्री हुनेछ । अहिले पनि ईभीको बुकिङ निकै राम्रो संख्यामा रहेको विक्रेताहरुको भनाइ छ । तर, बैंकले डिओ नदिदा गाडी ग्राहकले लान सक्ने अवस्था छैन ।


Back_to_top