काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत ४०० सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्ने सडक निर्माण दस्तुर आधा कम गरेसँगै ठूला मोटरसाइकलको मूल्य १ लाख रुपैयाँले घट्ने भएको हो ।
४०० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलमा यसअघि सडक निर्माण दस्तुर २ लाख लगाइएको थियो । आगामी आर्थिक वर्षको लागि जेठ १५ गते सार्वजनिक बजेटले १ लाख रुपैयाँ कायम गरेसँग यस्ता मोटरसाइकलको मूल्य सिधै एकलाख रुपैयाँ घट्ने भएको हो ।
नेपाली बजारमा ४०० सीसी क्षमता भन्दा माथिका मोटरसाइकल होन्डा, यामाहा, रोयल इन्फिल्ड, बेनेल जस्ता कम्पनीले विक्री गर्दै आएका छन् ।
होन्डा
होन्डाले विक्री गर्ने सीबीआर ६०० आरआरको मूल्यमा गिरावट आउने देखिन्छ । यो मोटरसाइकलमा ६०० सीसी क्षमताको इन्जिन रहेको छ । यसको मूल्य हाल ३४ लाख ५० हजार रहेको छ ।

यामाहा
यामाहाले विग बाइक सेग्मेन्टमा हालै मात्र सार्वजनिक गरेको मोटरसाइकल बोल्ट, एमटी ०९, टी म्याक्स ५६० र आर ६ मा समेत यसको फाइदा देखिन्छ । यी मोडल ४०० सीसीभन्दा माथिको इन्जिन रहेका छन् । यामाहा आर ६ को ३९ लाख ९९ हजार र टी म्याक्स, एमटी ९ र बोल्टको समान मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी मोटरसाइकलको मूल्य १ लाख कम हुन्छ ।

बेनेली
बनेलीका दुई मोडल ४०० सीसी क्षमताभन्दा माथिका विक्री भइरहेको छ । कम्पनीले हालै सार्वजनिक गरेको ७५२ एस र टीएनटी ६०० को मूल्य एक लाखले घट्ने छ । अहिले ७५२ एसको मूल्य २५ लाख १५ हजार र टीएनटी ६०० आईको मूल्य २३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

रोयल इन्फिल्ड
रोयल इन्फिल्डले नेपालमा जीटी ६५० ट्वीन विक्री गरिरहेको छ । यस मोटरसाइकलमा ६५० सीसी इन्जिन रहेको छ । यसको मूल्य १२ लाख ४९ हजार रुपैयाँ तोकेर कम्पनीले विक्री गर्दै आएको छ । यसको मूल्यपनि १ लाख रुपैयाँले कम हुने छ ।

सिएफ मोटो
सिएफमोटोले नेपाली बजारमा ४०० सीसी र ६५० सीसीको दुई मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । सीएफमोटो एनके ४०० मा ४००.४ सीसी इन्जिन रहेको छ । ४०० एनकेको मूल्य ७ लाख ९० हजार मूल्य रहेको छ । त्यस्तै ६५० एनकेको मूल्य १५ लाख ५० हजार र ६५० एमटीको मूल्य १६ लाख ५० हजार रुपैयाँ रहेको छ ।
यी सबै मोटरसाइकलको सडक निर्माण दस्तुरमा १ लाख रुपैयाँ घटेकाले त्यसको फाइदा ग्राहकले पाउनु पर्छ । मोटरसाइकल आयात कर्ताहरुले यसको मूल्य कहिले घटाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।


