आयो एमजी इजेडएस र किया निरोको नयाँ मूल्य (सूचीसहित)

काठमाडौं । एमजी र कियाले इलेक्ट्रीक कारको नयाँ मूल्य निर्धारण गरेका छन् । एमजी इजेडएस र किया निरोको मूल्य अघिल्लो बजेटको तुलनामा केही परिवर्तन भएको छ ।

कियाले आर्थिक वर्ष २०७६/७७ मा ६६ लाख ९० हजार मूल्य निर्धारण गरेर विक्री गर्दै आएको निरोको नयाँ मूल्य ६९ लाख ९० हजार तोकेको छ । कम्पनीले पहिले १० प्रतिशत भन्सार दस्तुर लाग्ने गरेकोमा नयाँ बजेटले १५ प्रतिशत कायम गर्दा ३ लाख मूल्य बढाउनु परेको जनाएको छ ।

‘१० प्रतिशत भन्सार लाग्दा ६६ लाख ९० हजार मूल्य तोकेर विक्री गर्ने गरेका थियौ, अहिले १५ प्रतिशत भन्सार लाग्छ । त्यसैले ३ लाख रुपैयाँ मूल्य बढेको हो’, कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङका डीजीएम अनिश लामिछानेले मेरोअटोसँग भने ।

त्यसैगरि एमजीले पनि आफ्नो चर्चित एसयूभी इजेडएसको नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले इजेडएसको नयाँ मूल्य ५० लाख ९९ हजार निर्धारण गरेको जनाएको छ । बजेट अगाडि ५९ लाख ९९ हजार मूल्य कायम गरेर विक्री गर्दै आएको इजेडएसमा ८ लाख रुपैयाँ मूल्य घटेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा इजेडएस ४९ लाख ९९ हजार मूल्य तोकेर विक्री गर्दै आएको थियो । अहिले एक वर्षअघिको मूल्यमा १ लाख रुपैयाँ थप गरेर नयाँ मूल्य निर्धारण गरेको हो ।

एमजी इजेडएसमा पनि पहिले १० प्रतिशत भन्सार लाग्थ्यो भने अहिले १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि जेठ १५ गते ल्याएको बजेटले १०० किलोवाट क्षमताको मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ । १०१ देखि २०० किलोवाटसम्मको मोटर भएका कारमा १५ प्रतिशत, २०१ देखि ३०० किलोवाटसम्मका कारमा ३० प्रतिशत र ३०१ भन्दा माथि क्षमताका कारमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेसँगै विद्युतीय कारको मूल्य घट्न सुरु भएको हो ।

चालु आर्थिक वर्षको बजेटले विद्युतीय कारमा लगाएको अन्तःशुल्क भने आगामी आर्थिक वर्षको बजेटले हटाएको छ । नयाँ आर्थिक वर्षको बजेट साउन एक गतेदेखि कार्यान्वयनमा आउने भएपनि राजस्व भने तत्काले लागु हुने भएकाले सबै कम्पनीले इलेक्ट्रीक कारको मूल्य निर्धारण गरिरहेका छन् ।


Back_to_top