काठमाडौं । विश्व प्रसिद्ध मोटर उत्पादक कम्पनी बिएमडब्ल्यूका उत्पादन आधिकारीक बिक्रेताको माध्यमबाट नेपाली बजारमा प्रबेश गरेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले यसलाई नेपाल ल्याएको हो ।
मे महिनाबाट आधिकारीक बिक्री सुरु गर्ने लक्ष्यसहित कम्पनीले बिएमडब्ल्यूको गाडी नेपाल ल्याएको भएपनि पछिल्लो समय कोभिड १९ को कारण भएको लकडाउनले गर्दा पछि सरेको जनाएको छ ।
‘हामीले मे महिनाबाट बिक्री सुरु गर्ने लक्ष्यसहित गाडी ल्याएका थियौ । तर, पछिल्लो समय भएको असहज अवस्थाको कारण आधिकारी बिक्री कहिलेबाट सुरु गर्ने भन्ने विषयमा केही छलफल भएको छैन’, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले मेरोअटोसँग भने ।

कम्पनीले अहिले एक यूनिट मात्र बिएमडब्ल्यू सेभेन सिरिज ल्याएको छ भने अन्य मोडलमा बिएमडब्ल्यू एक्स १, एक्स २ र एक्स ३ मोडल ल्याएको उनले जानकारी दिए ।
नेपाल ल्याइएको बिएमडब्लू सेभेन सिरिज ‘७४० एलई एक्सड्राइभ’ मोडल हो । यसमा प्लगइन हाइब्रिड टेक्नोलोजी प्रदान गरिएको छ । ८ स्पीड अटोमेटिक गियरबक्स जडान रहेको यो कार फ्ल्यागसिप सेडान कार हो । यसको नेपालमा संभावित मूल्य ४ करोड हाराहारीमा पर्ने अनुमान गरिएको छ ।
यसलाई एकपटकको फुलचार्जमा ४० किलोमिटर गुडाउन सकिन्छ भने ४६ लिटर इन्धन अट्ने फ्यूल ट्याङ्क दिइएको छ । गाडीको पावर ३२२ ब्रेक हर्स पावर रहेको छ ।


