सानो इन्जिनमा बीएमडब्लूको स्पोर्टस् बाइक, नेपाल पनि आउने

काठमाडौं । बीएमडब्लू मोटोराड इन्डियाले सानो इन्जिन क्षमताको स्पोर्टस् बाइकको तस्बिर सार्वजनिक गरेको छ । कम्पनीले जुलाई १५ तारिखबाट यसलाई बजारमा ल्याउने तयारी सहित तस्विर पार्वजनिक गरेको हो ।

अहिले कम्पनीले मोटरसाइकलको पछाडिको भाग मात्रै सार्वजनिक गरेको छ । तस्विरको आधारमा यो मोटरसाइकल बीएमडब्लूको इन्ट्री लेभल स्पोर्टस् मोडल हुने सहजै अनुमान गर्न सकिन्छ । बीएमडब्लू विश्वभर ठूला मोटरसाइकल बनाउन प्रसिद्ध कम्पनी हो ।

भारतमा अहिले पनि बीएमडब्लूले जी ३१० आर मोडल उत्पादन गरिरहेको छ । यो मोडल नेपाली बजारमा पनि उपलब्ध रहेको छ । अब कम्पनीले जी ३१० आरआर नामबाटै नयाँ मोटरसाइकल सार्वजनिक गर्ने अड्कलबाजी भइरहेका छन् ।

भारतमा टीभीएससँग सहकार्य गरेर बीएमडब्लूले मोटरसाइकल उत्पादन गर्दै आएको छ । टीभीएसले पनि अपाचे आरआर ३१० स्पोर्टस् मोटरसाइकल उत्पादन र विक्री वितरण गर्दै आइरहेको छ ।

बीएमडब्लूले देखाएको तस्विर अनुसार मोटरसाइकलको पछाडिको लाइट, पछाडि बस्ने मानिसले समाउने स्थान देख्न सकिन्छ । यो बाहेक मोटरसाइकलमा के कस्ता फिचर समावेस हुन्छन् भन्ने थाहापाउन केही दिन कुर्नु पर्ने हुन्छ ।

नयाँ स्पोर्टस् मोटरसाइकल नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । नेपाल सरकारले २५० सीसी माथिका मोटरसाइकलमा भन्सार शुल्कमा ब्यापक वृद्धि गरेको कारण यसको मूल्य भने महंगो पर्नेछ ।


Back_to_top