भारतमा साना एसयूभीः नेक्सन पहिलो बन्दा म्याग्नाइट अन्तिम

एजेन्सी । भारतीय अटोमोवाइल बजार विस्तारै लयमा फर्किएको छ । कोभिड १९ को संक्रमण र विश्वब्यापी सेमी कन्डक्टरको समस्याको कारण धेरै कम्पनीले अफ्नो उत्पादन कटौती गरेका थिए । तर, भारतभर मे महिनाको विक्री तथ्यांक सार्वजनिक भएपछि त्यसमा सुधारको संकेत देखिएको हो ।

बढ्दो ४ मिटरभन्दा छोटा एसयूभीको बजारमा टाटा नेक्सनले गज्जबको विक्री पाएको छ । यद्यपि यहाँ उल्लेख भएको सबै मोडलको तथ्यांक खुद्रा विक्री भने होइन । यो विक्री उत्पादकबाट डिलरकोमा पठाइएको हो ।

मे २०२२ मा सब फोर मिटर एसयूभीमा टाटा नेक्सन पहिलो स्थानमा रहेको छ । सन् २०२१ को मे महिनाको तुलनामा १२७ प्रतिशतले आफ्नो विक्री बढाएर नेक्सन पहिलो स्थानमा उक्लेको हो । मे महिनाभर १४ हजार ६१४ यूनिट नेक्सन डिलरकोमा पठाइएको टाटा मोटर्सले जनाएको छ ।

सूचीको दोस्रो स्थानमा मारुती सुजुकी ब्रेजा रहेको छ । ब्रेजाको विक्रीमा २८९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष मे महिनामा २ हजार ६४८ यूनिट ब्रेजा विक्री भएको थियो । यो वर्ष १० हजार ३१२ यूनिट ब्रेजा विक्री भएको तथ्यांक मारुती सुजुकीले सार्वजनिक गरेको छ ।

धेरै विक्री हुने साना र छोटा एसयूभीको सूचीमा टाटा पन्च तेस्रो स्थानमा रहेको छ । टाटा पन्च १० हजार २४१ यूनिट विक्री भएको छ ।

सूचीको चौथो स्थानमा हुन्डाई भेन्यू परेको छ । भेन्यूको विक्री पनि अघिल्लो वर्षको तुलनामा ७१ प्रतिशतले बढेर ८ हजार ३०० यूनिट पुगेको छ । साथै, भेन्यूको फेसलिफ्ट मोडल पनि जुन १६ तारिखबाट बजारमा आउने छ ।

किया सोनेट पाँचौ स्थानमा परेको छ । कियाले मे महिनामा ७ हजार ८९९ यूनिट सोनेट विक्री गरेको थियो । ५ हजार २२ यूनिट विक्री सहित महिन्द्रा एक्सयूभी ३०० धेरै विक्री भएका सब फोर मिटर एसयूभीको सूचीमा छैटौ स्थानमा रहेको छ ।

सूचीको सातौ स्थानमा रेनो काइगर परेको छ । मे महिनामा रेनोले २ हजार ६१८ यूनिट विक्री गर्दा निसान म्याग्नाइट भने दुई हजार यूनिटभन्दा तल झरेको छ । मे महिनामा निसानले म्याग्नाइट १ हजार ९६६ यूनिट मात्रै विक्री गर्न सफल भएको छ ।


Back_to_top