बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रुपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।
ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आउँदो असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम अहिलेसम्म शुरुआत हुन नसकेपछि निर्माण कार्य अलपत्र परेको हो ।
तीन वर्ष अगाडि एचके कन्स्ट्रक्सन प्रालिले तमैलमा २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ११ करोड २५ लाख रूपैयाँको लागतमा पुल निर्माणको सम्झौता गरेको भए पनि अहिलेसम्म पुलको कुनै पनि कामको थालनी नगरेको स्थानीयवासी करन सिंहले बताए ।
सेती नदीमा पुल नहुँदा काठे पुलको सहारामा छान्नातर्फ गएका मालबाहक ट्रक र यात्रुबाहक बस र जिप बाजुरा डोटी भएर खोपडे बझाङ सडकको बाटो हुँदै सदरमुकाम आउने गर्छन् ।
निर्माण कार्य सम्पन्न गर्ने म्याद अब दुई महिनामात्र बाँकी छ ।
खराब नियत भएको ठेक्दारलाई राज्यले कारवाही गर्नुपर्ने माग गर्दै उनले राजनीतिक आडमा ठेकदारले काम गर्दा जनता मर्कामा परेका गुनासो गरे ।
पुल निर्माण भएपछि सेतीपारिका चार गाउँपालिका र नगरपालिकासम्म यातायात सञ्जाल जोडिने सम्भावना ठेकेदारको लापर्वाहीले तत्काल नदेखिएको साविक गडराय गाविसका गोविन्द्र बोहराले बताए ।
उनले भने ‘पुल निर्माण गर्ने ठेकेदार, सडक विभागको सेती लोक मार्गअन्तर्गतको केन्द्रीय कार्यालय, प्रदेश नं ७ का सभामुख र मुख्यमन्त्रीकामा धायौँ । अझै टुङ्गो लागेको छैन । ठेकेदारले नदीको वरपर किनारामा जगसमेत खनेको छैन ।’
असी मिटर लम्बाइ रहेको यस पुलको तीन वटा स्पान रहेको र पाइल स्टमबाट पिल्लर राखी माथि सिमेन्ट ढलान गर्नु पर्ने पुलको डिजाइन छ । जमिनभित्र १६ मिटर मेसिन दबाएर २० वटा पाइल बनाई एक वर्गमिटरसहितको जमिनभित्रैबाट सिमेन्ट ढलान गरेर आउनुपर्ने यसको डिजाइन भएको पुल बनाउने ठेकेदारका प्रतिनिधि एगेन्द्र कुँवरले बताए ।
‘मेसिन लगाउँदा पाँच मिटर तर ठूलाठूला ढुङ्गा लागेर मेसिनभित्र जान नसकेपछि गत वर्षदेखि नै हामीले काम रोकेका छौं । खुला जग खनेर पिल्लर ढलानसहितको डिजाइन भएको भए पुलको काम आजसम्म आधा हुन्थ्यो । पाइल स्टमबाट पिल्लर राख्नु पर्ने हो तर मेसिन लगाउँदा तल ढुङ्गा लागेपछि काम कसरी गर्ने ?’ उनले भने ।
‘पाइल स्टमको पुल तराईका लागि राम्रो भएपनि बझाङ जिल्लामा त्यो सम्भव नभएको समन्वय समितिका सबइन्जिनियर हरिशंकर जोशीले बताए ।’
दुई वर्षअघि पहिलो पटक गाविस र जिविसबाट पैसा सङ्कलन गरी सेती नदीमा १३ लाख रुपैयाँको काठे पुल अस्थायी रुपमा निर्माण गरी हिउँदको तीन महिना गाडी गुडाउने समितिका संयोजकका रुपमा रहनुभएका अर्जुन थापाले प्रदेश नं ७ को सभामुख भएपछि तमैल पुलका बारेमा कुनै पनि चासो नदेखाउँदा आफूहरु निराश भएको छान्नालगायत सेतीपारिका स्थानीयवासीले बताएका छन् ।
सेती नदीमा पुल नहुँदा काठे पुलको सहारामा छान्नातर्फ गएका मालबाहक ट्रक र यात्रुबाहक बस र जिप बाजुरा डोटी भएर खोपडे बझाङ सडकको बाटो हुँदै सदरमुकाम आउने गर्छन् ।
छान्ना जोड्ने सेती नदीको पक्की पुल मात्र नभई जिल्लामा निर्माणाधीन अवस्थामा रहेका आधा दर्जन पक्की पुलको अवस्था पनि ठेकेदारको लापरवाहीले काम अघि बढ्न सकेको छैन । तर बझाङ जिल्लाका सरोकारवाला निकायका प्रमुख व्यक्तिहरु तैँ चुप मैँ चुप भनेर कानमा तेल हालेर बसेका छन् ।