बजेट २०७६/०७७ः के होला मोटरसाइकल र कारमा कर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आज संघीय संसदमा बजेट पेश गर्दैछ । अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने बजेटलाई अटोमोबाइल क्षेत्रले निक्कै चासोका साथ हेरेको छ ।

चालू आर्थिक वर्षको बजेट ल्याउँदा खतिवडाले पहिलो पटक सवारीसाधनको कर तिनको इन्जिन क्षमताको आधारमा वृद्धि गरेका थिए । अटोमोबाइल व्यवसायीको माग बिपरित सावरीसाधनको आयातमा लाग्ने अन्तःशुल्क इन्जिन क्षमताका आधारमा हेरफेर भएको थियो ।

कम इन्जिन क्षमताका सावरीमा अन्तःशुल्क यथावत राखिएको थियो भने बढी इन्जिन क्षमताका सवारीमा ६० प्रतिशतको अन्तःशुल्क १०० प्रतिशतसम्म पुर्याइएको थियो । त्यस्तै मोटरसाइकलको पनि कर बढाइएको थियो । ८ सय १ सीसीदेखि माथिका मोटरसाइकलमा १०० प्रतिशत अन्तःशुल्क र प्रति मोटरसाइकल २ लाख रुपैयाँ सडक मर्मत तथा सम्भार दस्तुर कायम गरिएको थियो ।

यो वर्ष पनि अर्थमन्त्री खतिवडाले बढी इन्जिन क्षमताका मोटरसाइकल तथा कारमा करका दरहरु बढाउने अनुमान व्यवसायीहरुले गरेका छन् । कम इन्जिन क्षमताका सवारीमा कर नबढाउने सरकारी नीतिले व्यवसायीलाई केही थमथम्याउन खोजेको देखिन्छ ।

सार्वजनिक प्रयोजनका लागि आउने सवारीमा भने करको दर निक्कै कम रहेको छ । जुन विगत लामो समयदेखि बढाइएको छैन । त्यस्तै विद्युतीय सवारीलाई पनि सरकारले प्राथमिकता दिएको छ । निजी प्रयोजनमा आउने विद्युतीय सवारीमा १० प्रतिशत र सार्वजनिक प्रयोगनमा आउने इलेक्ट्रीक सवारीमा १ प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था रहेको छ ।

आजको बजेटलाई चासो दिइनुको अर्को कारण हो सावरी एसेम्बलका लागि के सुविधा दिइन्छ । एउटा विदेशी कम्पनी सहित करिब आधा दर्जन स्वदेशी कम्पनी नेपालमै सवारी एसेम्बल गर्न लाइसेन्स तथा कम्पनी दर्ता गरेर बसकेका छन् ।

सरकारले नयाँ बजेटमा एसेम्बल प्लान्टलाई कस्तो सुविधा दिन्छ त्यही आधारमा नेपालमा सवारी एसेम्बल हुने वा नहुने तय हुने व्यवसायीहरुले बताउँदै आएका छन् ।

यी सबै कुराको जवाफ अपरान्ह ४ बजे अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा पेश गर्ने २०७६/०७७ को बजेटले दिने छ । 


Back_to_top