काठमाडौं । बीवाइडी एटो-वान मासिक २६ हजार ६५० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिने भएको छ । साइमेक्स इंकले नाइमा मोलिबिटी एक्स्पोमार्फत बजारमा डेब्यू गरेको एटो-वान हेर्ने र बुकिङ गर्नेको भीड नै देखिन्छ ।
बीवाइडीको पछिल्लो मोडल एटो-वानको चर्चा निकै चुलिएको छ । कम्प्याक्ट साइज सेग्मेन्टमा उपलब्ध एटो-वान अर्वान ह्याचब्याक कार हो । सहरी उपभोक्ताको चाहना सम्बोधन हुनेगरी आएको एटो-वान दुई भेरियन्टमा उपलब्ध छ ।
यहाँ चर्चा गरिएको मासिक किस्तामा आउने एटो-वान स्टायण्डर्ड रेन्ज भर्सनको डाइनामिक भेरियन्ट हो । यसको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यो मूल्यमा एटो-वान खरिद गर्ने उपभोक्ताले सुरूमा ११ लाख ५८ हजार रुपैयाँ डाउन पेमेन्ट बापत जम्मा गर्नुपर्ने हुन्छ ।
गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको कारण एटो-वानको इन्ट्री भेरियन्टको लागि १७ लाख ३७ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा पाइन्छ । अहिले वाणिज्य बैंकहरूले ६.५ देखि ८ प्रतिशतसम्मै कर्जा दिँदै आएका छन् । यस्तोमा हामीले ७.५ प्रतिशत ब्याजदर राखेर मासिक किस्ता निकालेका हौं ।

बैंकले ७ वर्षको लागि कर्जा सुविधा उपलब्ध गराउने भएको कारण एटो-वान किन्ने ग्राहकले ८४ किस्तामा मासिक २६ हजार ६४३ रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् ।
यस्तो छ एटो-वान
विद्युतीय कार भन्ने बित्तिकै रेन्ज, ब्याट्री साइज र मोटर पावरको कुरा आउँछ । इन्ट्री भेरियन्ट एटो-वानमा ३०.०८ किलोवाट अवारको एलएफपी ब्याट्री दिइएको छ । यसको डब्लूएलटीपी रेन्ज २३० किलोमिटर रहेको छ । मोटर भने ४५ किलोवाट पीकपावरको छ ।
थप जानकारी चाहिएमा यहाँ क्लिक गर्नुहोस् ।
एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने ह्याचब्याक कारको लम्बाइ ३९२० एमएम, चौडाइ १७२० एमएम, उचाइ १५७० एमएम छ । यसमा २५०० एमएम लामो ह्वीलबेस छ ।
मिलिमस्टिक डिजाइन रहेको बीवाइडी एटो-वानमा हाइटेक स्मार्ट ककपिट रहेको छ । यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने १०.१ इन्चको इन्टेलिजेन्ट टचस्क्रीन छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पाउन सकिन्छ ।

