बीवाइडी ‘एटो टु’ राइट ह्याण्ड ड्राइभ मलेसियामा लन्च, नेपालमा चाँडै आउने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले आफ्नो कम्प्याक्ट एसयूभी एटो टू को राइटह्याण्ड ड्राइभ मोडल मलेसियामा लन्च गरेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा एटो टू को लेफ्ट ह्याण्ड ड्राइभ बिक्री गरिरहेको बीवाइडीले पहिलो पटक राइट ह्याण्ड ड्राइभ सार्वजनिक गरेको हो ।

बीवाइडीले मलेसियामा एटो-टु लन्च गरेसँगै नेपालमा समेत आउने सहजै अनुमान गर्न सकिन्छ । नेपालको लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ मोडल ल्याउने मिति बारे जानकारी दिएको छैन । तर, नेपालमा हुन लागेका दुई अटो शो नाइमा वा नाडा अटो शो मध्य कुनै एकमै प्रदर्शनी पनि हुन सक्नेछ ।

चिनियाँ बजारम ३२ र ४५.१२ किलोवाट आवरको ब्याट्री प्याकमा बिक्री भइरहेको एटो-टु मलेसिया भने ५१.३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा बिक्री सुरू भएको हो । यसले एक पटकको सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टबाट देखिएको छ ।

मलेशियामा लन्च भएको एटो-टुमा १३० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । नेपाली बजारमा भने बीवाइडीले १०० किलोवाट भन्दा माथिको मोटरमा ल्याउने सम्भवना कम छ ।

नयाँ एसयूभीमा १७ इन्चको अलोय ह्वील, ८.८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको रोटरी इन्फोटेन्मेन्ट डिस्प्ले, ५० वाटको वायरलेस चार्जर, ६ वटा एयरब्याग दिइएको छ ।

कम्प्याक्ट एसयूभीको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम, उचाइ १५७० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

बीवाइडी एटो-टुले नेपाली बजारमा एमजी एस-फाइभ, हुन्डाई क्रेटा ईभी, ओमोडा ई-फाइभ, नेक्सन केथ्री जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top