काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले युरोपलाई लक्षित गर्दै टर्कीमा नयाँ प्लाण्ट बनाउने भएको छ ।
युरोप तथा अमेकिकाले चीनमा बनेका ईभीमा थप कर लगाएसँगै बीवाइडीले टर्कीमा १ अर्ब डलर लगानी गर्ने भएको हो । सोमबार (जुलाइ ८) बीवाइडी र टर्कीस सरकार बीच लगानीको सम्झौता भएको हो ।
बीवाइडीले १ अर्ब डलर लगानी गरी न्यू इनर्जी भेहिकलको प्लाण्ट बनाउने जनाएको छ । उक्त प्लाण्टको वार्षिक क्षमता १ लाख ५० हजार भेहिकल उत्पादन गर्ने रहेको छ ।
बीवाइडीको योजना अनुसार यो प्लाण्ट सन् २०२६ को अन्त्यसम्ममा संचालनमा आउने छ । प्लाण्टका अलावा बीवाइडीले टर्कीमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर समेत खोल्नेछ । टर्की युरोपको तेस्रो ठूलो अटोमोबाइल निर्यातकर्ता हो । टर्कीले वार्षिक ३५ अर्ब डलरको अटोमोबाइल निर्यात गर्दै आएको छ ।
टर्की युरोपको गेटवे देश हो । टर्कीको २३ वटा युरोपियन देशसँग फ्री ट्रेड एग्रिमेन्ट समेत रहेको छ । गत मार्चमा टर्कीले चिनियाँ ईभीमा ५० प्रतिशत भन्सार बढाएको थियो ।
बीवाइडीले चीनको सबैभन्दा ठूलो ईभी उत्पादक भएसँगै विश्वका विभिन्न देशमा उत्पादन प्लाण्टहरू स्थापना गरिरहेको छ । गत जनवरीमा बीवाइडीको उज्वेकिस्तान प्लाण्टबाट उत्पादन सुरू भएको थियो । त्यस्तै, यही जुलाइ ४ देखि थाइल्याण्ड प्लाण्टबाट उत्पादन सुरू भएको हो । बीवाइडीले यी प्लाण्टका अलावा युरोपियन देश हंगेरी तथा दक्षिण अमेरिकी देश ब्राजिलमा समेत प्यासेन्जर भेहिकल कार प्लाण्ट निर्माण गरिरहेको छ ।