काठमाडौं । चीनको न्यू इनर्जी अटोमोवाइल कम्पनी बीवाइडीले सन् २०२२ को फेब्रुअरीदेखि लगातार विक्री बढाउन सफल भएको छ । निरन्तर १० महिनादेखि विक्री बढेसँगै कम्पनीले सन् २०२२ मा करिब १९ लाख यूनिट गाडी विक्री गर्ने भएको हो ।
नोभेम्बर महिनाको विक्री आंकडा अनुुसार बीवाइडीले २ लाख २९ हजार ९४२ यूनिट प्यासेन्जर भेहिकल विक्री गरेको हो । कम्पनीले अघिल्लो वर्षको नोभेम्बर महिनाको दाँजोमा १४७ प्रतिशत विक्री बढाउन सफल भएको हो ।
बीवाइडीले ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड कार उत्पादन र विक्री वितरण गर्दै आएको छ । जसमध्ये नोभेम्बरमा १ लाख १३ हजार ९१५ यूनिट ब्याट्री इलेक्ट्रीक र १ लाख १६ हजार २७ यूनिट प्लगइन हाइब्रिड रहेको छ ।
बीवाइडीले अन्तर्राष्ट्रिय बजारमा विगत ४ महिनादेखि गाडी निर्यात सुरु गरेको छ । विश्वका ७० हाराहारी देशमा आफ्नो ४०० भन्दा धेरै नेटवर्क विस्तार गरिरहेको कम्पनीले १२ हजार ८०३ यूनिट कार चीनबाट निर्यात गरेको छ । डिसेम्बर महिनामा बीवाइडीको विक्री २ लाख ५० हजार कट्ने प्रक्षेपण गरिएको छ ।
सन् २०२१ मा जम्मा ५ लाख ९३ हजार ७४५ यूनिट मात्र न्यू इनर्जी भेहिकल विक्री गरेको बीवाइडीले सन् २०२२ को ११ महिनामा १६ लाख २२ हजार ७८१ यूनिट गाडी विक्री गरेको छ । जसमा ७ लाख ९९ हजार २०२ यूनिट प्योर इलेक्ट्रीक र ८ लाख २३ हजार ५७९ यूनिट प्लगइन हाइब्रिड मोडल रहेका छन् ।

