काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक कारको विक्री कम हुनुको मुख्य कारण एसयूभी सेग्मेन्टमा जाँदा ५० लाखभन्दा माथि तिर्नु पर्ने र साना गाडीमा धेरै मानिसको चासो नहुनु मुख्य कारण हो ।
४० लाखभन्दा कम मूल्यमा उत्कृष्ट एसयूभी पाउने हो भने धेरै मानिसले विद्युतीय गाडी खरिद गर्ने देखिन्छ । टाटा नेक्सन ४० लाखभन्दा कम मूल्यमा आएको भएपनि त्यसको सप्लाईमा समस्या देखिदा गाडी बुकिङ गरेर बसेका ग्राहकले पनि अर्को गाडी किन्ने अवस्था सृजना भएको छ ।
यस्तोमा अहिले बजारमा विक्री हुँदै आएका कम्प्याक्ट एसयूभी क्रेटा, सेल्टोस, कुशक र टाइगुनको साइजमा यी गाडीको सुरुवाती भेरियन्टको मूल्य भन्दा कममा नै फुल अप्सन विद्युतीय कार पाउने हो भने धेरै ग्राहकको रोजाइनमा पर्न सक्नेछ । यही सेग्मेन्टको बजार माग पुरा गर्न बीवाइडी एस २ प्लस मोडल साइमेक्स इंकले नेपाल ल्याउने तयारी गरेको बुझिएको छ । संभवत कम्पनीले फेब्रुअरीमा आयोजना हुने नाडा अटो शो २०२२ मा यसलाई सार्वजनिक गर्नेछ ।
अहिले बजारमा चल्तीका कम्प्याक्ट एसयूभीकै साइजमा नेपाल आउने एस २ प्लसको लम्बाई ४३६० एमएम, चौडाई १७८५ एमएम, उचाई १६८० एमएम र ह्वीलवेस २५३५ एमएम रहेको छ । यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

बीवाइडीले एस २ प्लस भेरियन्टमा ७० किलोवाट क्षमताको मोटर र ५०.१ र ५३.२ किलोवाट आवरको लिथियम आयोन व्लेड व्याट्रीको प्रयोग गरेको छ । उक्त व्याट्रीलाई एक पटक फुलचार्ज गरेपछि ४०१ देखि ४१० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।
चारवटै चक्कामा डिस्क ब्रेक, १६ इन्चको अल्मुनियम अलोय ह्वील, पानारोमिक सनरुफ, किलेस इन्ट्री, रिमोट लक, पुस बटम स्टार्ट, पार्किङ राडार, इबीडी सहितको एबीएस, ब्रेक एसिस्ट, ट्रायाक्सन कन्ट्रोल, इलोक्ट्रोनिक स्टेवलीटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट जस्ता फिचर यसमा रहेका छन् ।

अटोमेटीक हेडलाइट, डे टाइम रनिङ लाइट, इन्फोटेन्टमेन्ट सिस्टम, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, आर्मरेष्ट, पावर विन्डो, रियर वाइपर जस्ता फिचर समावेस भएको एस २ प्लस मोडल उत्कृष्ट एसयूभी हो ।

