काठमाडौं । बीवाइडी लाइनअपको सबैभन्दा सानो कार सिगल राइट ह्याण्ड ड्राइभमा लन्च भएको छ ।
कम्पनीले बुधबारदेखि सुरू भएको ‘गाइकिन्डो इन्डोनेशिया इन्टरनेशनल अटोशो २०२५’ सिगलको राइटह्याण्ड ड्राइभ भेरियन्ट ‘एटो वान’ सार्वजनिक गरेको हो ।
बीवाइडीले सिगलको राइटह्याण्ड ड्राइभ ‘एटो वान’ नाममा सार्वजनिक गरेको हो । बीवाइडीको पोर्टफोलियोमा सबैभन्दा धेरै बिक्री हुने यो कार अन्तर्राष्ट्रिय बजारमा डल्फिन मिनी र डल्फिन सर्फको नाममा बिक्री भइरहेको छ ।
इन्डोनेशियामा राइटह्याण्ड ड्राइभ लन्च भएसँगै अब नेपालमा पनि चाँडै आउने छ । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक स्रोतका अनुसार याे कार आगामी भदौ ३ गतेदेखि सुरू हुने नाडा अटो शोमा सार्वजनिक हुनेछ । नेपाली बजारमा भने यो कार सिगलकै नामबाट लन्च हुने कम्पनी स्रोतले जनाएको छ ।

इन्डोनेशियमा एटो १ स्ट्याण्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा लन्च भएको छ । यो कारको स्ट्याण्डर्डमा ३०.०८ किलोवाट अवार र प्रिमियममा ३८.८८ किलोवाट अवारको ब्याट्रीप्याकको अप्सन रहेको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः ३०० र ३८० किलोमिटरको हुने एनईडीसीले प्रमाणित गरेको छ ।
इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतिक्षा गरिएको मोडल हो । सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा ५५ किलोवाटको मोटर रहेको बीवाइडी सिगल नेपाली बजारम ५० किलोवाटमा आउने अनुमान गर्न सकिन्छ ।

मिलिमस्टिक डिजाइन रहेको बीवाइडी सिगलमा हाइटेक स्मार्ट ककपिट रहेको छ । यो कारमा एप्पल कारप्ले र एण्डरोइड अटो फिचर रहेको १०.१ इन्चको इन्टेलिजेन्ट टचस्क्रीन र ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले रहेको छ । वायरलेस मोबाइल चार्जिङ प्याड, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ ह्वील यसको क्याबिनको थप फिचर हो ।
नेपालीमा बजारमा सिगलको सिधा प्रतिस्पर्धा टाटा टियागो, विलिङ बिंगोसँग हुनेछ । यसको मूल्य २५ देखि ३० लाख रुपैयाँ आसपासमा हुने अनुमान छ ।


