बीवाइडीले ल्याउँदै नयाँ मोडल सिल एक्स

काठमाडौं । चीनको सबैभन्दा ठूलो ईभी कम्पनी बीवाइडीले सिल एक्सको ह्याचब्याक मोडल बनाउने स्वीकृति पाएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाइडी सिल एक्स ह्याचब्याकलाई उत्पादन गर्न स्वीकृति दिएको हो ।

चीनका सञ्चार माध्यमले बताए अनुसार उक्त कार गत महिना बेइजिङ अटो शोमा प्रदर्शन गरिएको बीवाइडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन रहेको छ ।

हाल बीवाइडीले सिल फेमिली अन्तर्गत सिल ०६, सिल ईभी, सिल डीएम–आई र सिल यू उपलब्ध गराइरहेको छ । अप्रिल महिनाको तथ्यांक अनुसार ओसन सिरिजको बिक्रीमा सिल फेमिलीको योगदान १०।२६ प्रतिशत रहेको छ । जसमा अप्रिल महिनामा मात्रै १४ हजार २६९ यूनिट बिक्री भएको थियो ।

अब यो फेमिलीमा बीवाइडी सिल एक्स समेत थपिने भएको छ । बीवाइडी सिल एक्सको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४६३० एमएम, १८८० एमएम र १४९० एमएम छ भने ह्वीलबेस २८२० एमएम छ । यसको अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा हुने बताइएको छ । यो गाडी रियल ह्वील र फोर ह्वील ड्राइभमा उपलब्ध हुनेछ ।

बीवाइडी सिल एक्सको सिंगल मोटर मोडलको पावर १६० किलोवाट र ड्युअल मोटर मोडलको पावर ३१० किलोवाट सम्म हुनेछ । यसमा ब्लेड ब्याट्री प्रयोग हुनेछ ।

यसको पावरट्रेन र अन्य जानकारी भने हाल सार्वजनिक गरेको छैन ।


Back_to_top