काठमाडौं । बीवाइडीले आफ्नो पहिलो रियर ह्वील ड्राइभ मोडल सिलायन सेभेन नेपाली बजारमा बिक्री थालेको महिना दिनभन्दा बढी भयो । नेपाल आएको छोटो समयमा नै यसको प्रभाव सडकमा देखिन थालिसकेको छ ।
बीवाइडीको ओसियन सिरिजको सबैभन्दा ठूलो एसयूभी नेपाली बजारमा केबल रियर ह्वील ड्राइभमा मात्रै उपलब्ध छ । यसको अल ह्वील ड्राइभ भर्सन निकै पावरफुल थियो । रियर ह्वीलमा पनि सिंगापुर, नेपाल, श्रीलंका जस्ता देशमा केबल १०० किलोवाटको मोटरमा उपलब्ध भएको कारण ईको मोडमा पावर सम्झौता गरेको भान हुन्छ । तर, नर्मल र स्पोर्टस् मोडमा जाने बित्तिकै फरक किसिमको ड्राइभिङको मज्जा लिन पाइन्छ ।
गाडी बाहिरबाट हेर्दा जति नै ठूलो लागे पनि चलाउँदा निकै स्मार्ट फिल दिन सक्षम छ । एरोडाइनामिक होस् वा टर्निङ रेडियस दुवैमा सिलायन सेभेन अब्बल लाग्छ । ठ्याक्कै ४.८ मिटर लामो एसयूभीको टर्निङ रेडियस ५.८ मिटर छ । यसको ड्रयाग कोफिसियन्ट ०.२१९ सीडी छ ।

बाहिरी बनोटमा क्लोजअफ ग्रिल भए पनि निकै आक्रमक लाग्ने हेडलाइट हाउजिङ र फग लाइट हाउजिङ तथा तल्लो भागमा दिइएको एक्टिभ एयर फ्ल्यापसहितको एयर ड्याम निकै उत्कृष्ट लाग्छ ।
साइडमा स्लिक्क परेको बडी क्लाडिङ, पहिलो पटक बीवाइडीका गाडीमा आएको पप-अप डोर ह्याण्डल, पृथक डिजाइनको ह्वील आर्क र १९ इन्चको मल्टी स्पोक स्टेरिङ ह्वीलले धेरैको ध्यान खिच्न सफल हुन्छ ।

मोर्डन डिजाइनबाट प्रेरित पछाडिको भाग पनि आकर्षक लाग्छ । कुप्पे डिजाइनमा डबल स्पोइलरको प्रयोग साँच्चै राम्रो लाग्छ । कनेक्टेड टेल लाइट, इलेक्ट्रीक बुट र स्पोर्टी टेल बम्परले यसको अलग पहिचान निर्माण गरेको छ ।
सिलायन सेभेनमा भेहिकल टु लोड प्रविधि दिइएको छ । अत्याधुनिक मानिएको ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) फिचर र प्रिमियम क्याबिन सिलायन सेभेनको बलियो पक्ष हो ।

बीवाइडीले सिलायन सेभेनमा धेरै बटमहरू दिएको छ । यसमा दिइएको युनिक क्रिस्टल गियर नब, एसीको बटमहरू, भ्वाइस कमाण्ड बटम, अटो होल्डको लागि बटम, ड्राइभ मोड सेलेक्ट गर्न बटम दिइएको छ ।
मैले चलाएपछि भन्न सक्छु, तपाईं सिलायन सेभेन चलाउँदै हुनुहुन्छ भने सहरी क्षेत्रमा सधैँ नर्मल मोडमा चलाउनु होला । यसमा रहेको १०० किलोवाट पीकपावरको मोटरले ३८० न्युटन मिटर टर्क प्रदान गर्ने कम्पनीको दाबी छ ।

बीवाइडीले सिलायन-सेभेनमा ७१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले देखाएको छ । सडकमा चलाउँदा पनि ४०० किलोमिटर माथिनै रेन्ज पाउन सकिन्छ । यसले ११० किलोवाटको डीसी चार्जर सपोर्ट गर्नेछ । जुन यसको बलियो हो ।

