‘ईभी बज’मा मुख्यमन्त्रीः दिक्क भएर आधा मूल्यमा बेच्दैछु

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सानो कारण आफु विद्युतीय गाडी बिक्री गर्ने अवस्थामा पुगेको बताए । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको  ‘केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रममा बोल्दै बानियाँले स्पेयर टायर नभएकै कारण आफु गाडी बिक्री गर्ने मुडमा पुगेको बताए ।

‘मैले दुई पटक बीच बाटोमा नै गाडी छाडेर हिड्नु पर्‍यो । गाडीको चक्का पड्कियो, अर्को टायर थिएन । त्यसपछि परिवार सहित अर्को गाडी मगाएर हिडे । एक पटक त पठाओ बोलाएर हिडेको छु’, मुख्यमन्त्री बानियाँले भने ।

विद्युतीय गाडी सरकारको प्राथमिकतामा छ । सरकारले पूर्वाधार बनाउनेदेखि करमा छुट दिएकै छ । तर, ब्यवसायीहरु उपभोक्तालाई राम्रो सेवा दिने तर्फ लागेको पाईदैन । त्यसैले धेरै मानिसले दुःख पाउन थालेपछि ईभी प्रति नै वितृष्णा सृजना हुन थाल्ने मुख्यमन्त्री बानियाँको दावी थियो ।

आफुले किनेको विद्युतीय गाडी आधा मूल्यमा बिक्रीको लागि राखेको बताउँदै मुख्यमन्त्री बानियाँले भने, ‘तपाईहरु सबै गाडी बिक्री गर्ने साथीहरु हुनुहुँदो रहेछ । कसको गाडी हो । आफुले कसरी सेवा दिइरहेको छु । उपभोक्ताको सन्तुस्टी तपाईको प्राथमिकतामा पर्छ कि पर्दैन । एक पटक आफ्नो सेवा सम्झेर मम भन्नु होला ।’

ईभी बिक्रेताले सेवामा जोड दिनु पर्ने बताउँदै उनले भने, ‘आयातकर्ताले सर्भिस, स्पेयर पार्टस र अन्य सेवा दुरुस्त राख्नु पर्छ ।’

अर्को प्रशंगमा विद्युतीय गाडीमा ८० प्रतिशत कर्जा दिन किन सकिँदैन भन्दै उनले बैंकहरु माथि पनि कटाक्ष गरे । उनले भने, ‘धेरै मानिसले प्रयोग गर्न सकुन् भनेर सरकारले छुट दिएको हो । उल्टो बैंकले एकै पटक धेरै रकम जम्मा गर्नु पर्ने बाध्यता बनाएको छ । यसलाई सुधार गर्नुपर्छ ।

केन्द्रबिन्दु मिडियाले आयोजना गरेको ‘ईभी बज’ कार्यक्रमा विभिन्न विषयमा प्यानल डिस्कसन समेत भएको थियो । साथै, विभिन्न ब्राण्डका सफल कार मोडललाई अवार्ड समेत दिइएको थियो ।


Back_to_top