भारतमा ‘भीएफ सिक्स’को मूल्य १६ लाख ४९ हजार, नेपालमा कति पर्ला ?

काठमाडौं । भियतनामको इलेक्ट्रीक कार ब्राण्ड भीनफास्टले भारतमा उत्पादन थालेसँगै दुई मोडल भीएफ सिक्स र सेभेन बजारमा उतारेको छ । मूल्यका हिसावले निकै प्रतिस्पर्धी मानिने भारतमा भीएफ सिक्सको सुरुवाती मूल्य १६ लाख ४९ हजार भारतीय रुपैयाँ तोकिएको हो ।

भीनफास्टले भीएफ सिक्सलाई तीन भेरियन्टमा बजारमा ल्याएको हो । तर, तीन वटै भेरियन्टको मूल्यमा भने धेरै फरक छैन । कम्पनीले अर्थ, विन्ड र विन्ड इनफिनिटी नाम दिएर तीन भेरियन्ट ल्याएको हो । विन्ड भेरियन्टको मूल्य १७ लाख ७९ हजार र विन्ड इनफिनिटीको मूल्य १८ लाख २९ हजार तोकिएको छ ।

विशाल ग्रुप अन्तर्गतको अटोमोबाइल कम्पनीले नेपाल ल्याउने भीएफ सिक्सको मूल्य कति पर्छ अहिल्यै एकिन साथ भन्न सकिदैन । तर, यसको मूल्य लगभग हुन्डाई क्रेटा इलेक्ट्रीक कै हाराहारी हुनेछ । त्यो भनेको ५२ लाख आसपासमा आउन सक्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको भीएफ सिक्सको बाहिरी बनोट पनि निकै आकर्षक देखिएको छ । स्लोपिङ रुफलाइन, १८ इन्चको ह्वील, स्टाइलिस बडी क्लाडिङ, भी आकारमा दिइएको डे टाइम रनिङ लाइट, स्पोर्टी फ्रन्ट बम्पर र आकर्षक हेडलाइट देख्न सकिन्छ ।

साइजको हिसावले पनि भीएफ सिक्स आकर्षक छ । यसको लम्बाइ ४२४१ एमएम, चौडाइ १८३४ एमएम र उचाइ १५८० एमएम छ । झट्ट सुन्दा यसको उचाइ कम लागेपनि १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स उत्कृष्ट लाग्छ । ह्वीलवेस भने २७३० एमएम लामो छ ।

बाहिर जस्तै भित्रको डिजाइन पनि निकै ‘मिनिमल’ पाउन सकिन्छ । यसको ड्यासबोर्डमा १२.९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसका हेडअप डिस्प्ले दिइएको छ । चालकको सिट ८ तरिकाले मिलाउन मिल्छ ।

वायरलेस चार्जर, ८ स्पीकर, भ्यान्टिलेटेढ सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, एन ९५ एयर फिल्टर, भेगन लेदरको प्रयोग गरिएको छ । यसमा एडास लेभल टु फिचर सुरक्षाको लागि उपलब्ध रहेको छ ।

अटोमेटीक हेडलाइट, ७ एयरब्याग, ३६० डिग्री क्यामेरा, अटो पार्क एसिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता फिचरले यसलाई बलियो एसयूभी बनाएको देखिन्छ ।

भीनफास्टले यसमा ५९.६ किलोवाट आवरको ब्याट्री दिएको छ । तर, मोटर साइज भने फरक छ । इन्ट्री भेरियन्ट अर्थमा १३० किलोवाट तथा विन्ड र विन्ड इनफिनिटी भेरियन्टमा १५० किलोवाट क्षमताको फ्रनट ह्वील ड्राइभ मोटर प्रयोग भएको छ । मोटर साइज अनुसार पीकटर्क पनि २५० र ३१० न्यूटन मिटर प्रदान गर्छ । यसको रेन्ज ४०० किलोमिटर आसपास रहनेछ ।


Back_to_top