दुई दिनपछि बिक्री सुरु हुँदै बीवाइडी ‘अप’, सस्तो मूल्यको कारण विश्वभर चर्चा

काठमाडौं । बीवाइडीको नयाँ ग्लोवल मोडल ‘युवान अप’ एसयूभी बिक्री सुरु हुनु अघि नै विश्वभर चर्चा कमाउन सफल भएको छ । कम्पनीले आफ्नो चर्चित मोडल एटो-थ्रीभन्दा सानो साइजमा ल्याएको एसयूभीले बजारमा आउनुअघि नै चर्चा कमाएको हो ।

चीनमा दुई दिनपछि मार्च १९ बाट बिक्री सुरु हुन लागेको अप एसयूभीको सुरुवाती मूल्य ११ हजार अमेरिकी डलर हुने बताइएको छ । बीवाइडी अप कम्पनीको इन्ट्री लेभल एसयूभीको रुपमा बजारमा आउन लागेको हो । सम्भवत यसलाई चाँडै चीन बाहिरको बजारमा पनि निर्यात सुरु गर्नेछ ।

बीवाइडीले नयाँ एसयूभीलाई ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा ल्याउने छ । कम्पनीको सानो ब्याट्रीले ३०१ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ ।

त्यसैगरी यसमा रहने ठूलो ४५.१ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने सिएलटीसीको भनाइ छ । युवान अप मोड ब्याट्री जस्तै मोटर पनि दुई अप्सनमा उपलब्ध हुनेछ ।

अहिले डल्फीनमा रहेको जस्तै ७० किलोवाट र ठूलोमा १३० किलोवाटको इलेक्ट्रीक मोटर यसमा पाउन सकिन्छ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहने छ ।

अहिले चल्तीमा रहेको एटो–३ भन्दा कम मूल्यमा आउने ‘युवान अप’ पनि इ-प्लेटफर्म ३.० मा उत्पादन भएको हो । यसको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ ।

कम्पनीले यसमा २६२० एमएम लामो ह्वीलवेस दिनेछ । यसलाई कम्पनीले अप्सनल फिचरको रुपमा प्यानारोमिक सनरुफ र लगेज र्याक दिएर ल्याउने छ । सेमी हिडन डोर ह्याण्डल रहेको युवान अपमा १६ र १७ इन्चको ह्वील रहने छ ।


Back_to_top