काठमाडौं । पछिल्लो समय अटाेमाेवाइल कम्पनीहरूले धमाधम मिडसाइज एसयूभी बजारमा ल्याइरहेका छन् ।
हालै मात्र मारूती सुजुकीले ग्राण्ड भिटारा तथा टोयोटाले हाइराइडर लन्च गरेको थियो भने जापनिज ब्राण्ड होण्डाले पनि आफ्नो नयाँ मोडलको रोडटेस्ट गरिरहेको छ ।
त्यस्तै, सेग्मेन्टममै फ्रेन्च ब्राण्ड रेनोले पनि नयाँ गाडी उतार्ने घोषणा गरिसकेको छ । यसैक्रममा, अर्को फ्रेन्च अटोमोबाइल ब्रान्ड सिट्रोनले भने आगामी अप्रिल महिनामा नयाँ मिडसाइज एसयूभी सार्वजनिक गर्ने मिति तय गरेको छ ।
कम्पनीले मिडसाइज एसयूभी सेग्मेन्टमै सीथ्री एयरक्रसलाई अप्रिल २७ तारिखका ग्लोबल प्रिमियर गर्ने भएको छ । कम्पनीले केही समय अघिबाट यो नयाँ कम्प्याक्ट एसयूभीको सडक परीक्षण गरेको थियो ।

सीथ्री एयरक्रसको आधिकारिक विक्री वितरण भने सन् २०२४ बाट मात्रै हुने अनुमान गरिएको छ । सीएमपी प्लेटफर्ममा निर्माण भएको यो एसयूभीको एक्स्टेरियर डिजाइन सिट्रोनको सीथ्री ह्याचब्याकसँग मिल्दोजुल्दो रहेको छ ।
यसमा सीथ्री ह्याचब्याकमा भएजस्तै स्प्लिट हेडल्याम्प क्लस्टर, सिग्नेचर ग्रिल, एलईडी हेड ल्याम्प, र्यापराउन्ड टेल–ल्याम्प रहेको छ । यसको लम्बाई ४.२ देखि ४.३ मिटरको हुनेछ भने सिट लेआउट दुई र तीन रो हुने अनुमान गरिएको छ । कम्पनीले यसलाई ५ र ७ सिट अप्सनमा ल्याउने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी, यसको इन्टेरियरमा निकै सुधार गरिएको छ । यसमा नयाँ लेआउट सहितको ड्यासबोर्ड दिइएको छ भने फराकिलो टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एपल कारप्ले र एन्ड्रोइड कनेक्टिभिटी लगायत पाउन सकिन्छ ।
यसको स्टेरिङ ह्वील, अटोमेटिक क्लाइमेट कन्ट्रोल , स्वीच गियर लगायतका कम्पोनेन्ट भने सीथ्रीको नै समावेश गरिएका छन् ।
सीथ्री एयरक्रसमा पनि सीथ्रीमा जस्तै १.२ लिटर थ्री सिलिन्डर टर्बोचार्जड पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिन सिट्रोन सीथ्री ह्याचब्याकको टप भेरियन्टमा प्रयोग हुने गरेको छ । यसले ११० हर्स पावर र १९० एनएम टर्क उत्पादन गर्छ ।

