साउनमा नेपाल आए ३८४ इलेक्ट्रीक गाडी, पेट्रोल कारको आयात कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा ३८४ युनिट विद्युतीय चार पाङ्ग्रे साधन आयात भएका छन् । बजेटपछि असारमा लगभग ठप्प रहेको आयात साउन महिनामा वृद्धि भएको हो ।

साउन महिनामा चीनबाट ५० किलोवाटसम्म मोटर पावर भएका विद्युतीय गाडी ८४ युनिट आयात भएको देखिन्छ । उक्त आयातमा अधिकांश आयात ९ सिट क्षमताका इलेक्ट्रीक भ्यानको हो ।

त्यसैगरी, भारतबाट साउनमा ५० किलोवाट मुनिका साधन ७७ युनिट आयात भएको देखिन्छ । साथै १०० किलोवाटसम्म मोटर क्षमता भएका कार भारतबाट १०१ युनिट आयात भएको छ । यसमा टाटा पन्चको हिस्सा सबैभन्दा बढी देखिन्छ ।

चीनबाट भने ११५ युनिट १०० किलोवाटसम्म मोटर पावर भएका गाडी आएका छन् । त्योभन्दा माथि मोटर पावर भएका कारको संख्या ४ युनिट छ । साथै, रेडारा पीकअप पनि ३ युनिट आयात भएको देखिन्छ ।

साउन महिनामा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात ३०८ युनिट भएको छ । अघिल्ला महिनाहरूमा ठूलो खाडल रहेको ईभी र पेट्रोलियम कारको आयात साउनमा भने केही कम देखिन्छ ।

गतमहिना आयात भएका पेट्रोलबाट चल्ने कारको हिस्सामा सबैभन्दा धेरै १००० देखि १५०० सीसी सेग्मेन्ट ठूलो छ । एक महिनाको अवधिमा १७२ यूनिट १५०० सीसीसम्मका कार आयात भएका छन् ।

एक महिनामा ८ यूनिट हाइब्रिड कार पनि आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


Back_to_top