काठमाडौं । हुन्डाई मोटर इन्डियाले क्रेटा फेसलिफ्ट मोडल बाहेक अन्य सबै मोडेलको मुल्य २ प्रतिशतले बढाउने जनाएको छ । भने मारुति सुजुकीले ५ हजारदेखि २५ हजारसम्म मूल्य बढाउने बताएको छ ।
दुबै कम्पनीले बढेको मूल्य जुन १ बाट लागु हुने जनाएका छन् । हुन्डाई र मारुति बाहेकका अन्य कम्पनीले पनि कारको मूल्य बढाउने तयारी गरेका छन् । यसरी उनिहरुले २ प्रतिशतले मूल्य बढाउँदा नेपाली बजारमा भने करिब ६ प्रतिशत हाराहारीले मूल्य वृद्धि हुने भएको छ ।
यता नेपाल सरकारले जेठ १५ गते आर्थिक बर्ष २०७५/७६को बजेट ल्याउँदै छ । उक्त बजेटले गाडीमा लाग्दै आएको अन्तःशुल्क वृद्धि हुने कुरा बाहिर आइरहेको छ । साँच्चै करका दरमा वृद्धि भएकाे खण्डमा यसले नेपाली बजारमा कार झनै महंगो बनाउने पक्का छ ।
यस्तो छ मुल्य वृद्धिको कारण
पछिल्लो ६ महिनादेखि भारतमा आयातित कच्चा पदार्थको मुल्य वृद्धि भैरहेको कारण मूल्यवृद्धि गर्नुपरेको कम्पनीहरुले जनाएका छन् ।
अटो क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थको ढुवानी लागत तथा इन्धनको मूल्य लगातार बढेसँगै कार निर्माता कम्पनीले उत्पादन महंगो भएको जनाएका छन् ।
साथै, भारतमा संचालित धेरै जसो मोटर कम्पनीले आवश्यक अटो पार्टस् तेस्रो मुलुकबाट आयात गर्ने भएकाले मूल्य बढाउनु परेको कम्पनीहरुको भनाई रहेको छ ।
अन्य देशबाट आयात गरिने गाडीको इन्जिन, इन्जिन कम्पोनेन्ट, गियरबक्स तथा ट्रान्समिसन शफ्टको मुल्य १५ प्रतिशतसम्म वृद्धि भएको छ । जर्मनी कम्पनीहरुले समेत चालु आर्थिक वर्षको शुरुवातदेखि आफ्नो देशमा निर्माण हुने अटो पार्टसको भन्सारदरमा वृद्धि गरेको छ ।
यी र यस्तै कारण देखाएर कम्पनीहरुले सवारीसाधनको मूल्य वृद्धि गर्न लागेको भारतीय मिडियाले जनाएका छन् ।
योपनि पढ्नुस् :कति आम्दानी हुनेले कस्तो कार किन्ने ? यसरी गर्नुस् हिसाव