काठमाडौं । सानो बजारका बाबजुद नेपालमा चारपाँग्रे सवारी साधन बिक्री गर्ने ब्राण्डको संख्या बढ्दै गएको छ । बजारमा आकर्षक डिजाइन र स्वरुपका कारहरु भित्रिरहेका छन् । कार चढ्न चाहानेहरु आफ्नो क्षमता र रोजाई अनुरुपका कार किनिरहेका छन् । ग्राहकको बढ्दो आकर्षणलाई लक्षित गर्दै कार कम्पनीहरुले छुट, वारेन्टी, फाइनान्स लगायतका आर्कषक योजना ल्याउने गरेका छन् ।
बिक्रेता कम्पनीले निश्चित समयअवधिका लागि कारको इन्जिन, ब्याट्री र स्पेयरपार्टमा वारेन्टी प्रदान गर्ने गर्छन् । जसले कार किन्नेहरुको मन लोभ्याएको मात्रै छैन कारको बजार बिस्तार गरिरहेको छ ।
यस्तोमा हरेक कार खरिद गर्न चाहनेहरुलाई मध्यनजर गर्दै हामीले नेपाली बजारमा उपलब्ध कार कम्पनीहरुले आफ्ना मोडलमा कति वर्षसम्म वारेन्टी दिँदै आएका छन् भन्ने विषयमा यो रिपोर्ट तयार पारेका छौं ।
मारुती सुजुकी
मारुती सुजुकीको लागि नेपालको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आफ्ना सबै कारमा समान किसिमको वारेन्टी दिँदै आएको छ । कम्पनीले कारको इन्जिन तथा गियरबक्समा चार वर्षे वारेन्टी प्रदान गर्ने गरेको जनाएको छ । कम्पनीले इलेक्ट्रीकल पाटर्सको अवस्था अनुकुल वारेन्टी दिने गर्छ, भने ब्याट्रीमा एक वर्षको वारेन्टी दिदै आएको जनाएको छ ।
हुन्डाई
हुन्डाई कम्पनीको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो कारमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिने गरेको छ । तर, दुर्घटना, चोरी, आगलागि, लगायतका कारण कारमा समस्या आएको खन्डमा भने, वारेन्टी उपलब्ध नहुने कम्पनीले जनाएको छ ।
टाटा मोटर्स
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्ना कारको ब्याट्री तथा गियरबक्समा वारेन्टी दिदै आएको छ । कम्पनीले इन्जिनमा २ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी दिँदै आएको छ । सबै कारमा समान नियम अनुरुप वारेन्टी प्रदान गर्ने गरेको कम्पनीले जनाएको छ । ब्याट्रीमा अधिकतम १ वर्ष तथा टायर, सस्पेन्सन लगायतका इलेक्ट्रिकल पार्टको अवस्था अनुसार वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फोर्ड
अमेरिकी कम्पनीले फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोबाइलले कारको इन्जिन तथा गियरबक्समा दुई वर्ष वा दुई लाख किलोमिटर जुन पहिला हुन्छ त्यही वारेन्टी दिने जनाएको छ । तर, ब्याट्रीमा भने एक वर्षे वारेन्टी दिदै आएको छ । यस्तै, कारको टायर, पार्टपुर्जा, सस्पेन्सनमा अवस्था हेरेर वारेन्टी दिने गरेको कम्पनीले जनायो ।
टोयोटा
टोयोटाको आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले पनि कारको इन्जिन तथा व्याट्रीमा वारेन्टी प्रदान गर्दै आएको छ । कम्पनीले मोडल अनुसार इन्जिनमा २० हजार किलोमिटर देखि र ब्याट्रीमा एक वर्षे अवधिको लागि वारेन्टी दिँदै आएको छ ।


