काठमाडौं । सीएफ मोटोको आधिकारीक वितरक अन्ना इन्टरनेशनलले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको छ । यसअघि हिमालायन मोटोराडले नेपाल ल्याउने भनिएपनि अन्तिममा अन्ना इन्टरनेशनलले नै नेपाल ल्याउने भएको हो ।
अन्ना इन्टरनेशनलले नयाँ कम्पनी रिलायन्स ग्रुपसँगको सहकार्यमा सीएफ मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटर विक्री गर्ने भएको हो । आयात प्रतिबन्धमा परेर केही समय बन्द रहेको सिएफ मोटोको शोरुम पुनः संचालनमा आएको छ । अबको हप्ता १० दिनमा जिहोको इलेक्ट्रीक स्कुटर नक्साल शोरुममा आइपुग्ने कम्पनीमा मार्केटिङ मेनेजर सुरज श्रेष्ठले बताए ।
सीएफ मोटोले नक्साल शोरुममा जिहो इलेक्ट्रीक स्कुटरको पोस्टरसमेत राखिसकेको छ । अको एक महिना भित्र जिहो स्कुटर नेपाली बजारमा विक्री सुरु गर्ने तयारी भइरहेको श्रेष्ठले बताए ।
चिनियाँ कम्पनी जिहोको उत्पादन ‘एइ८’ एग्रेसीभ मस्कुलर डिजाइनमा उपलब्ध हुनेछ । यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्म नै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।
कम्पनीले नेपालमा विक्री सुरु गर्ने तयारी गरेको एइ८ स्कुटरमा १२.५ किलोवाट क्षमताको लिक्वीड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ हर्सपावर जेनेरेट गर्छ । जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।
यसको टस स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यो स्कुटले ०–५० को स्पीड मात्र २.६ सेकेन्डमा भेट्टाउने छ । यसमा रिमुभ एबल लिथियम आयोन डबल ब्याट्री अप्सन दिइएको छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १९० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।
स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुबिधासमेत उपलब्ध छ । यो स्कुटर नेपालमा नै पहिलो एबीएस भएको स्कुटर हुनेछ । जिहो एइ८ मा डबल च्यानल एबीससहितको डिस्क ब्रेक उपलब्ध रहेको छ ।
यो स्कुटरमा ५ इन्चको एलसीडी कर्भ इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा तीन राइड मोड, एडप्टीभ हेडल्याम्प, डिस्र्टवेन्स अर्लाम, एन्टि थेफ्ट अर्लाम, स्मार्ट कनेक्ट जस्ता फिचर उपलब्ध छन् ।
यो इलेक्ट्रीक स्कुटर ५ लाख रुपैयाँ हाराहारीमा विक्री हुने अनुमान गरिएको छ ।

